अन्तर्राष्ट्रिय युवा सम्मेलनमा नेपाली युवा सहभागी हुदैँ


 राजाराम पौडेल, पोखरा- ढाकामा बिहिबारदेखि शुरु हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनमा नेपाली युवाहरुको एक टोली सहभागी हुने भएको छ । युवा पत्रकार तथा लेखक सुवास मल्लको नेतृत्वमा १४ सदस्यीय टोली बिहिबार नै त्यस तर्फ प्रस्थान गर्ने मल्लले जानकारी दिए ।

‘दिगो युवा विकासका लागि दक्ष युवाशक्ति’ भन्ने नाराका साथ बंगलादेशको राजधानी ढाकामा सम्पन्न हुन लागेको उक्त सम्मेलनमा गोविन्द गिरी, शकुन्तलादेवि शर्मा अधिकारी, विश्वदर्शन पराजुली, अमृत सुवेदी, दुर्गाराज पाण्डे र प्रभा भुजेलले सहभागिता जनाउनेछन् । त्यसै गरी उक्त सम्मेलनमा सुजन पौडेल, भानु पौडेल, रमेश सिंह, रविन्द्रराज पौडेल, दीपक तिवारी, धर्मदत्त पौडेल र पोमलाल गिरी पनि सहभागी हुने आयोजकहरुले जनाएका छन् ।

उक्त अवसरमा नेपालजस्ता अल्पविकशित तथा विकाशशिल देशहरुमा व्याप्त युवा रोजगारीको समस्या, समाधान तथा विदेश पलायनका विविध आयामहरुको बारेमा छलफल हुनेछ । कार्यक्रमका विभिन्न सत्रहरुमा बेरोजगारी, युवा नेतृत्व विकास, युवा सशक्तिकरण, स्वयंसेवा तथा दक्ष रोजगारी लगायतका विषयहरुमा छलफल गरिने छ । तीन दिन सम्म चल्ने उक्त सम्मेलनमा नेपालसहित १५ बढी राष्ट्रका करिब ५०० युवा प्रतिनिधीहरुले भाग लिने छन् ।

बंगलादेशका विभिन्न संस्थाहरु स्टेप अप फाउण्डेसन, लाइफ एण्ड स्किल डेभलोप्मेण्ट क्लब, होप’८७ तथा न्युजिल्याण्डका संस्थाहरु बाज्डा र लाइफ स्किल कोचिङ्गको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाली टोलीको व्यवस्थापन पोखराको गुरुचेला एजुकेशनले गरेको हो । गुरुचेला एजुकेशनको आयोजनामा बिहिबार बिहान नेपाली टोलीलाई राष्ट्रिय युवा परिषदका केन्द्रीय उपाध्यक्ष माधव ढुंगेलले विदाई गर्ने कार्यक्रम रहेको मानव अधिकार शिक्षा क्लवका केन्द्रीय उपाध्यक्ष सन्तोष अधिकारीले बताए ।