‘वान बेल्ट, वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिन सक्ने चिनिया पक्षको दावी


राजाराम पौडेल,पोखरा-नेपालले चीनले अगाडि सारेको  ‘वान बेल्ट, वान रोड’ अवधारणाबाट  बढीभन्दा बढी फाइदा लिन सक्ने चिनिया पक्षले दावी गरेको छ ।  वान बेल्ट वान रोड ( एक क्षेत्र, एक सडक ) अवधारणाबारे नेपाली धारणा बुझ्न नेपाल आएको वान बेल्ट परियोजनाको उच्चस्तरीय प्रतिनिधीमण्डलको स्वागतमा  पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चिनिया पक्षले सो दावी गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै वान बेल्ट वान रोड अन्तर्राष्ट्रिय व्यापार फोरमका संस्थापक सु याले वान बेल्ट वान रोडको अवधारणा नै  अन्तर्राष्ट्रिय व्यापारको लागि नयाँ अवधारणा रहेकोले यसबाट नेपालसहित अन्य देशहरुले आफ्नो व्यापार प्रवद्र्धनमा ठूलो अवसर प्राप्त गर्ने बताए ।
वान बेल्ट वान रोड परियोजनाबारे नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई जानकारी गराएर पोखरा आएको टोलीका प्रमुख सु याले यो परियोजनालाई कार्यान्वयनमा ल्याउन नेपालमा समेत एउटा उच्चस्तरीय समिति निर्माण गर्ने जानकारी दिए । सो कमिटीले चीनबाट सामान ल्याउन चाहनेहरुको लागि आयात समिति र चीनमा सामान निर्यात गर्न चाहनेहरुको सरलताको लागि निर्यात समिति समेत निर्माण गर्नेछ । सो समितिले प्रमाणित गरेका सामानहरु गुणस्तरीय, कम मूल्यका र प्रविधी मैत्री हुने उनले दावी गरे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले वान बेल्ट वान रोड चीनको मात्र नभएर छिमेकीहरुको लागि पनि विकासको साझा अवधारणा भएको बताए ।

नेपालको बलियो विकासको साझेदार चीनको तर्फबाट पोखराको विकासमा गरिएको योगदानको चर्चा गर्दै उनले त्यसको निरन्तरताको कामना पनि गरे ।  पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गरेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु डिवी भुजेल, प्रकाशदेव पालिखे र गोमा ढकाल लगायतले वान बेल्ट वान रोडको परियोजनाबाट नेपालले प्राप्त गर्ने फाइदाहरु बारे जिज्ञासा राखेका थिए ।कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले वान बेल्ट वान रोड नेपालको लागि अवसर भएको बताउँदै पोखराको पर्यटन उद्योगमा लगानी गर्न चिनिया पक्षलाई आग्रह गरे ।