लोक गायिका तुलसाको फिल्ममा डेब्यु


राजाराम पौडेल,पोखरा-लोक दोहोरी गायिकाको परिचय बनाएकी तुलसा जिसीले नेपाली फिल्म अग्निदहनमा अभिनय गर्दै नेपाली फिल्मी क्षेत्रमा डेब्यु गरेकी छन् । उनले यस फिल्ममा बुहारीको भुमीका निभाएकी छन् । फिल्म मार्फत दर्शकले साथ दिनेमा उनी आशावादी छन् । दर्शकले साथ दिएको खण्डमा नेपाली फिल्ममा निरन्तरता दिने योजना उनको छ ।
वि.स.२०६८ मा ‘वैश जोवनमै’ गीत बजारमा ल्याएर साँगीतिक क्षेत्रमा उनको आगमन भएको थियो ।  उनका ‘कस्तो होला बोली’, ‘हेराउन जाम हिड’, ‘जवानीले मागेको कुरा’, ‘सम्झना छैन, ‘के मा बस्यो मोहनी’ ‘दिल भित्र चित्र’ लगायतका गीत चर्चामा छन् । उनले यसअघिनै म्युजिक भिडियोमा अभिनय गरेर मोडलको परिचय समेत उनले बनाएकी छन् । य आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जस्ले पनि ढाट्ने लगायतका गीतको म्युजिक भिडियोमा उनी मोडलको रुपमा देखिएकी छन् ।  पोखराबाट निर्माण भएको टेलिफिल्ममा समेत उनले अभिनय गरेकी छन् । उनी लोक दोहोरी गीत प्रतिष्ठान कास्कीकी कोषाध्यक्ष हुन् । उनी देश विदेशका साँगीतिक कार्यक्रममा समेत उत्तिकै व्यस्त छन् ।
तुलसा सँगै अग्निदहन मार्फतनै अनुपमा भण्डारीको समेत नायिकाको रुपमा नेपालि फिल्मी क्षेत्रमा डेब्यु भएको छ । फिल्म धौली मार्फत आफ्नो बेग्लै परिचय बनाएका युवा निर्देशक घनश्याम लामिछानेद्धारा निर्देशित दोस्रो फिल्म हो  ‘अग्निदहन’ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको प्रस्ुततीमा निर्माण हुँदै यस फिल्ममा नेपाली फिल्म र गुरुङ फिल्म मार्फत दर्शकमाझ परिचित माओत्से गुरुङ, गुरुङ फिल्मका महानायक भनेर चिनिन तारा बहादुर गुरुङ, प्रमिला तुलाचन, प्रकाश घिमिरे, विष्णु बाँस्तोला, ओम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।  भर्खरै छायांकन सकीएको फिल्म नयाँ वर्षको अवसरमा आगामी बैशाखमा रिलिज गर्ने तयारी रहेको निर्माण पक्षले  जनाएको छ ।