पोखरामा हुने नेपाल तरुण दलको चौथो महाधिवेशनको तयारी पूरा


पोखरा- शनिवारदेखि पोखरामा हुने नेपाल तरुण दलको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । स्थानिय ब्यवस्थापक तरुणदल कास्कीले महाधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

विहिवार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार महाधिवेशनको लागि प्रतिनिधिको बसोवास, स्वागत गेट निर्माण लगायतका सबै तयारी पूरा भएको छ । पोखराको चोकचोकमा तरुणदलको झण्डा राखिएको छ भने पोखरा प्रवेश गर्ने नाका सहित नगर क्षेत्रका विभिन्न स्थानमा स्वागतद्धार निर्माण गरिएको छ ।

कात्तिक २७, २८ र २९ गते तीन दिन सम्म चल्ने महाधिवेशनमा ७३ जिल्लाका झण्डै १३ सय प्रतिनिधिहरु सहभागी हुने अनुमान छ । ७० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र तीन वटा जिल्लामा जिल्ला अधिवेशन नभएपनि क्षेत्र र नगर अधिवेशन सम्पन्न भएकाले क्षेत्रीय र नगरस्तरीय प्रतिनिधिहरु सहभागी हुन पाउनेछन् । त्यस्तै अधिवेशननै नभएको दुई वटा जिल्लाबाट भने प्रतिनिधि सहभागी हुन नपाउने भएका छन् ।

महाधिवेशन अन्तर्गत कात्तिक २७ गते पोखराको चिप्लेढुङ्गामा उद्घाटन सत्र हुने र पार्टी सभापति शेरवहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा सञ्चालन हुनेछ । कात्तिक २८ गते बन्दसत्र सुरु हुने र २९ गते निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका छ ।

तरुणदलमा हाल ६१ सदस्यीय कार्यसमिति रहेपनि नयाँ कार्यसमिति ७५ सदस्यिय सम्म पुर्याउने योजना छ । नयाँ कार्यसमिति प्रादेशिक संरचनाका आधारमा चयन हुने बताइएको छ ।