ब्रुनाईलाई हराउँदै नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा प्रवेश


काठमाडौं – एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईमाथि शानदार जित हात पारेको छ र, समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३-० गोल अन्तरको जित हात पारेको हो ।

नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।

दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । ७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएको थियो ।

खेलको ८० औं मिनेटमा नेपालले पेनाल्टी पायो, जसमा युवा स्ट्राइकर विमल घर्ती मगरले सहजै गोल गरे ।

आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल ब्रुनाईविरुद्धको जितसँगै ४ अंकसहित समूह एको विजेता बनेको छ । हारका बावजुत ब्रुनाई समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

मलेसियाको कोचिङस्थित सरावाक रंगशालामा भएको खेलमा नेपालले १० वर्षअघि एएफसी च्यालेन्ज कपमा ब्रुनईबाट भोगेकोे पराजयको बदला पनि लियो। सन् २००६ मा बंगलादेशमा आयोजना भएको च्यालेन्ज कपमा नेपाल २–१ ले ब्रुनईसँग पराजित भएको थियो।