भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्धारा गोर्खा सैनिकको योगदानको प्रशंसा


पोखरा – भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतको सुरक्षामा गोर्खा सैनिकले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । पोखराको रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी झण्डै १० हजार भूतपूर्व गोर्खा सैंनिक र उनीहरुका परिवारलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले पछिल्लो दुई सय बर्षदेखि गोर्खा सैनिकले पुर्याउदै आएको योगदान प्रशंसनिय भएको बताए ।

गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता प्रदर्शन गरेको उनले उल्लेख गरे । भारतीय सेनाको सुप्रिम कमाण्डर समेत रहेका राष्ट्रपति मुखर्जीले हाल ३२ हजार नेपाली भारतीय सेनामा कार्यरत रहेको र झण्डै एक लाख २६ हजार पूर्व सैनिक र तीनका परिवारले पेन्सन सुविधा लिइरहेको जानकारी दिए । पूर्व गोर्खा सैनिकहरु नेपाल र भारत विचको मित्रताको आधार स्तम्भ भएको मुखर्जीको भनाई छ । उनले भारत सरकारको तर्फबाट पूर्व सैनिकको कल्याणका लागि कुनैपनि कसर बाकी नराख्ने समेत विश्वास दिए ।

राष्ट्रपति मुखर्जीले प्राचिन कालदेखिनै नेपाल र भारत विच घनिष्ठ सामाजिक र सास्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै खुल्ला सिमानाको कारण पनि सबै नागरिक एक अर्को देशमा आवतजावत गरिरहेको बताए ।

तीन दिने राजकिय भ्रमणको अन्तिम दिन राष्ट्रपति मुखर्जी जनकपुर हुदै पोखरा आएका थिए । उनी पोखरा विमानस्थलमा पुग्दा संघिय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज वराल, पोखरा स्थित सुरक्षा निकायका प्रमुहरुले स्वागत गरेका थिए । विमानस्थल बाहिर नागरिक स्तरबाट विभिन्न जातजातीको बाजागाजा र झाकी सहित मुखर्जीको स्वागत गरिएको थियो ।

मुखर्जी दिउसो पौने १ बजे पोखरा पुग्ने कार्यक्रम रहेपनि दुई घण्टा ढिला गरी पौने तीन बजे मात्र पोखरा पुग्नुभएको थियो । भारतीय राष्ट्रपति पोखरा पुग्नुअघि पोखराको आकाशमा विरोध स्वरुप कालो झण्डा सहितको वेलुन उडाइएको थियो । दिउसो साढे १२ बजे लगातार १३ वटा कालो झण्डा सहितको वेलुन उडाएपछि खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कालो झण्डा प्रदर्शन गर्ने चार जना विप्लव माओबादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।