भारतीय दूतावासको भोजमा नेताहरुको लाइन, एमाले अध्यक्ष ओली गएनन्


काठमाडौं – नेपालको राजकीय भ्रमणमा रह]का भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले बुधबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरी भोज खुवाएका छन् ।

भोज खान उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो ।

केपी ओली गएनन्

भारतीय राजदूतावासले भोज खान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएको थियो । तर, ओली अनुपस्थित रहे । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल अहिले विदेश भ्रमणमा रहेपनि अध्यक्ष ओली काठमाडौंमै हुँदासमेत भोजमा सरिक भएनन्।

एमालका तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम र भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायतका भने सहभागी भएको भोजमा सामेल भएका एक नेताले बताए ।दूतावासले मुखर्जीको सम्मानमा दूतावास परिसरभित्रै दिवाभोज आयोजना गरेको थियो ।