पार्टीभित्रै प्रधानमन्त्री पुष्पकमल दाहालको तीव्र आलोचना सुरु (छापाबाट)


 सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रैबाट प्रधानमन्त्री पुष्पकमल दाहालको तीव्र आलोचना सुरु भएको छ । परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक बिदा घोषणा गरेको, इमानदार र क्षमतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनेलाई राजनीतिक नियुक्तिमा लगेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको हो ।

उनीमाथि जनताका पक्षमा देखिने गरी कुनै निर्णय कार्यान्वयन गराउन नसकेको, पार्टीको संस्थागत निर्णय नमानेको, अध्यक्षको हैसियतमा पार्टी संगठनलाई बेवास्ता गरी निर्वाचन गराउने घोषणा गरेको, भारत र चीनबीच सन्तुलन कायम राख्न नसकेको जस्ता आरोप पार्टीभित्रैबाट लागेको छ ।

भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्त गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ । पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको विषयमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले व्यंग्यात्मक शैलीमा विरोध जनाएका छन् ।

पार्टी अध्यक्ष दाहालको संरक्षण गरेजस्तो गरेर पत्याउनै नसकिने निर्णय प्रधानमन्त्री दाहालबाट नभएको हुनसक्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गरेका छन् । ‘हाम्रो पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको इज्जत, प्रतिष्ठा र मूल्यमाथि किन यति निर्मम प्रहार भइरहेको छ ?

हालै नियुक्त भएका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार उही हाम्रो पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य नारायण दाहाल नै हो भनेर किन प्रचार हुँदैछ ? यो हुनै सक्दैन । प्रशासनिक सल्लाहकारमा कोही नारायण दाहाल नाम गरेको पूर्ववरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद्लाई नियुक्त गरिएको हुनुपर्छ । संयोगले नाम जुध्यो । बस । होइन र !’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रशासनिक सल्लाहकार नियुक्त भएका नेता नारायण दाहालले भने श्रेष्ठको अभिव्यक्तिलाई गैरराजनीतिक टिप्पणीको संज्ञा दिएका छन् । ‘वरिष्ठ नेतालाई भेट्न प्लेकार्ड बोकेर जानुपर्ला,’ दाहालले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा पूर्वलडाकु कमान्डरसमेत रहेका सांसद महेन्द्रबहादुर शाहीले दर्ता गराएको महाभियोग प्रस्तावको पक्ष र विपक्षमा पार्टीभित्र मत विभाजित रहेका बेला प्रधानमन्त्री दाहालले पनि दोहोरो भूमिका निर्वाह गरेको नेताहरूले बताएका छन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

महाभियोग प्रस्ताव तत्काल अगाडि बढाउने पक्षमा नदेखिएका दाहाल सुरुका दिनमा आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजेका थिए भने पछिल्ला दिन प्रस्तावको पक्षमा बाहिर खुलेर लागेका छन् । ऊर्जामन्त्री जनार्दन शर्मासहितका केही नेता महाभियोग प्रस्तावको पक्षमा वकालत गरिरहेका छन् भने अन्य नेता खुल्न सकेको देखिँदैन । महाभियोग प्रस्तावबारे पार्टीभित्र निर्णय नगराई केही नेताको इच्छामा दर्ता गराइएको भन्दै दाहालनिकट नेताहरूले विरोध जनाएका छन् ।

केन्द्रीय सचिवालय सदस्य मणि थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विचारमा संकट आए विचारको विकास गर्न सकिन्छ । राजनीतिमा संकट आए उपायको खोजी गर्न सकिन्छ तर विश्वासमा संकट आएपछि संकट गहिरिन्छ । आज माओवादी आन्दोलनभित्र र बाहिर विश्वासको संकट गहिरिँदैछ । उपायको अन्वेषण गर्ने बेला भइसक्यो ।’

पार्टी एकता प्रक्रियामा आएका नेता पनि प्रधानमन्त्री दाहालको गतिविधिप्रति दिक्क बन्न थालेका छन् । ‘हामीले पार्टी एकता गर्नु थियो गर्‍यौं । सरकारको नेतृत्व गर्ने अवसर आयो, गर्‍यौं तर परिस्थिति हाम्रो अनुकूल बनिरहेको छैन किनकि यसको जबाफ काठमाडौसँग छैन, दूरदराजका गाउँ दुःख पाएका कार्यकर्ता र जनतासँग छ, उनीहरूका कुरा सुन्ने धैर्य गरौं’, एकता प्रक्रियामा आएका थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।