मुखर्जीको सुरक्षार्थ पोखरामा साढे १४ सय भन्दा बढी सुरक्षाकर्मी खटिने


पोखरा-नेपालको तीन दिने राजकिय भ्रमणका क्रममा शुक्रबार पोखरा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षार्थ साढे १४ सय भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । मुखर्जी भ्रमणको अन्तिम दिन शुक्रवार सवा तीन घण्टाको लागि पोखरा आउदैछन् ।

भ्रमण तालिका अनुसार शुक्रवार विहान काठमाडौंबाट जनकपुर जाने र जानकी मन्दिरको दर्शन तथा त्यहा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर सिधै पोखरा आउने कार्यक्रम छ । उनी दिउसो पौने १ बजे पोखरा आइपुग्नेछन् । त्यसपछि पोखरा विमानस्थलबाट केहिवेर आरामको लागि विरौटा स्थित होटल पोखरा ग्राण्डमा जानेछन् । केहिवेरको आरामपछि उनी एयरपोर्ट, पृथ्बीचोक हुदै पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

मुखर्जी सहभागी कार्यक्रममा झण्डै १० हजार भूतपूर्व भारतीय सेना सहभागी हुने अनुमान गरिएको छ । सो कार्यक्रममा सहभागी भएर सिधै विमानस्थल आउने र काठमाडौं प्रस्थान गर्ने कार्यतालिका छ । उनी अपरान्ह ४ बजे काठमाडौं फर्किर्नेछन् ।

पोखरामा रहने सवा ३ घण्टाको समयमा उनको सुरक्षाको कडा प्रबन्ध मिलाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् । मुखर्जी आवतजावत गर्ने सडक, उनले आराम गर्ने होटल तथा कार्यक्रम स्थलमा सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको छ । उनको भ्रमणलाई लक्षित गरी विशेष सुरक्षा योजनानै तयार पारिएको छ ।

मुखर्जीको सुरक्षाका लागि चार वटा सुरक्षा निकायका १४ सय ५९ सुरक्षाकर्मी परिचालित हुनेछन् । स्रोतका अनुसार उनको सुरक्षामा ३८७ नेपाली सेना, ५६४ नेपाल प्रहरी, ४५७ सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ५१ सुरक्षाकर्मी परिचाति हुनेछन् ।

उनको पहिलो सुरक्षा घेरामा भने भारतीय कमाण्डोनै खटिनेछन् । दोस्रो तहमा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी रहनेछ । राष्ट्रिय अनुसन्धान विभागको टोली सिभिलमा खटिनेछन् । उनी पोखरामा रहने समयमा अन्य स्थानमा पनि सुरक्षा निगरानी बढाउने र नगरका अन्य क्षेत्रमा सुरक्षाकर्मी परिचालित हुने भएका छन् ।

मुखर्जी सहभागी हुने कार्यक्रममा पनि भूतपूर्व भारतीय सैनिक वाहेक अन्य ब्यक्तिलाई प्रवेशमा कडाई गरिने भएको छ । सञ्चारमाध्यमलाई पनि सिमित मात्रामा प्रवेशको ब्यवस्था मिलाइने भएको छ ।