बुद्ध एयरले भारतीय राष्ट्रपति मुखर्जीलाई जनकपुर र पोखरा घुमाउने


काठमाडौ – सरकारले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुर र पोखरा घुमाउन बुद्ध एयरको जहाज चार्टर गर्ने भएको छ।

कात्तिक १९ गतेका लागि दुई वटा एटीआर जहाज चार्टर गर्न सरकारले बुद्ध एयरलाई पत्र पठाएको हो। यस विषयमा प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र बुद्ध एयरबीच छलफल चलिरहेको छ। बुद्ध एयरले सरकारबाट जहाज चार्टरका लागि पत्र आएको र लगभग टुंगो लागिसकेको बताए।

बुद्धले एक दिनको ३० लाख रूपैयाँमा २ वटा जहाज चार्टरमा दिन लागेको छ। मुखर्जी १७ गते बुधबार काठमाडौं आइपुग्नेछन्। १९ गते जनकपुर र पोखरा जाने कार्यक्रम छ। बिहान जनकपुर र त्यतैबाट पोखरा जानका लागि बुद्ध एयरका २ वटा जहाज काठमाडौंबाट सँगै उड्नेछन्। भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण टोली, नेपाली अधिकारीहरू र उनको सुरक्षा टिमका लागि दुई वटा जहाज आवश्यक परेको हो।