लोकमानतन्त्रका विरुद्ध विद्यार्थीहरु पनि सडकमा


काठमाडौं—  विभिन्न ११ राजनीतिक दलका विद्यार्थी संगठनले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन आग्रह गर्दैसडक संघर्ष थालेका छन्। उनीहरुले शुक्रबार शान्तिबाटिका नेताहरुलाई खबरदारी गर्दै एक घन्टासम्म प्रदर्शन गरेका छन् ।

शान्ति बाटिकाको कोणसभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री कुञ्दन काफ्लेले महाअभियोग प्रस्ताव जुनसुकै अवस्थामा पारित गर्नुपर्ने भन्दै सांसदहरुलाई अघि बढ्न आग्रह गरे।  गुण र दोषका आधारमा दोषीले न्याय पाउने राज्यव्यवस्था जनताको चाहना हो यो कुरालाई राजनीतिक नेतृत्वले बुझ्न जरुरी रहेको उनको भनाइ थियो। ‘अन्यायविरुद्ध हामी अघि बढेका छौं। विगतमा दलहरु अल्मलिँदा पनि विद्यार्थीले आन्दोलनको आँधिबेहेरी ल्याएका थिए। महाअभियोग प्रस्तावको पक्षमा फेरि एक आँधीहुरी ल्याउनुपर्ने आवश्यकता देखिएको छ। समयले गरेको यो माग हामी पूरा गर्नेछौं’, काफ्लेले भने।

एमाले अखिलकी अध्यक्ष नवीना लामाले लोकमानलाई कारवाही गर्न खुट्टा नकमाउन नेताहरुलाई आग्रह गरिन्।अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले लोकमानविरुद्ध लडेर नै गणतन्त्र ल्याएको स्मरण गर्दै उनीविरुद्ध फेरि लड्नुपर्ने अवस्था आएको सुनाए। विधिको शासन र कानुनी राज्यका लागि फेरि एकपटक लोकमानविरुद्ध सडकमा उत्रनु पर्ने देखिएको उनको भनाइ थियो।

शुक्रबार बसेको विद्यार्थी संगठनहरुको बैठकले लोकमानलाई महाअभियोग नलगाउन्जेल विद्यार्थी संगठनको आन्दोलन जारी राख्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए। सोही कार्यक्रमअनुसार भोलि विद्यार्थी संगठनहरुले पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने भएका छन्। आइतबार काठमाडौंमा जनसभा गर्ने निर्णय पनि गरिएको छ।

लोकमानविरुद्धको विद्यार्थी मोर्चामा कांग्रेसको नेविसंघ, एमाले अखिल, माओवादीको अखिल क्रान्तिकारी तथा समाजवादी फोरमको विद्यार्थी संगठन सहितका विद्यार्थी संगठनहरु एकजुट भएका हुन्।