कार्कीलाई जोगाउन कूटनीतिक संयन्त्र सक्रिय (छापाबाट)


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् । 

उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए । करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाए ।

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटेका छन् । उनले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।

यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राखेका छन् । उनले कांग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राखेका छन् । उनी अन्य नेताहरूलाई पनि भेट्ने र यसबारे छलफल अघि बढाउने तयारीमा रहेको स्रोतले जनायो ।

छिमेकी भारतको उच्च नेतृत्वबाट आएको निर्देशनअनुसार काठमाडौं स्टेसन सक्रिय भएको गृह अधिकारीहरूले बताए । कार्कीले कूटनीतिज्ञहरू मात्र नभई भारतीय ‘बाबाहरू’ समेतलाई आग्रह गरी त्यस्तो निर्देशन दिन लगाएको हुन सक्ने नेताहरूको अनुमान छ । आफ्नो बचाउका लागि कार्कीले राजनीतिक दलका नेताहरू र भारतीय बाबादेखि पूर्वराजासम्मलाई उपयोग गरेका हुन् ।

राजा र हिन्दु राज्यका पक्षमा लबिङ गर्दै आएको राप्रपा नेपाल कार्कीको बचाउमा खुलेरै लागिपरेको छ । राप्रपा नेपालका अध्यक्ष लोकमानको नातामा समेत जोडिएका कारण उनले आफू नेतृत्वको दललाई नै उपयोग गरेको सोही दलका नेताहरूले बताए । थापा र रअको प्रभावमा रहेका परराष्ट्र मन्त्रालयका केही कर्मचारीले समेत आफ्नो स्रोत र कूटनीतिक मित्रहरूमार्फत कार्कीलाई जोगाउने प्रयत्न गरिरहेको स्रोतको दाबी छ । आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।

http://bit.ly/2exD4oB