पदाधिकारी मनोनयन गर्न काग्रेस सभापती शेरबहादुर देउवालाई सकस


 सभापति निर्वाचित भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था कांग्रेस विधानमा छ । तर, सभापति शेरबहादुर देउवाले निर्वाचित भएको सात महिनासम्म पनि पार्टीका विभिन्न निकायलाई पूर्णता दिन सकेका छैनन् । आन्तरिक समीकरण मिलाउन समस्या परेपछि उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन गर्नसमेत देउवालाई सकस परेको छ।

तीनपटक गरेर ११ केन्द्रीय सदस्य मनोनीत गरे पनि अझै १० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । दुई महिनाभित्रै गठन गर्नुपर्ने ३० विभाग, केन्द्रीय कार्यसम्पादन समितिजस्ता पार्टीका प्रमुख संयन्त्रलाई पनि पूर्णता दिन देउवाले सकेका छैनन् । पार्टी प्रवक्ता चयन गर्न पनि उनले ढिलाइ गरेका छन् ।

खुमबहादुर खड्का, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ उपसभापतिका प्रमुख दाबेदार हुन् । देउवाको पहिलो रोजाइ निधि छन् । तर, खड्का र श्रेष्ठ असन्तुष्ट हुने भएकाले उपसभापति पद थप्नेबारे देउवाले छलफल गरेका छन् । नेता रामचन्द्र पौडेल पक्ष भने यो विकल्पमा सकारात्मक छैन ।
निधि कांग्रेसको नेतृत्व गर्दै सरकारमा छन् । सरकार र पार्टीको जिम्मेवारी दिंदा थप असन्तुष्ट हुने र कार्यसम्पादन पनि प्रभावित हुने भएकाले देउवा अर्को सरकार गठन भएपछि मात्र उपसभापति मनोनयनको मनस्थितिमा छन् । उपसभापति केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक पनि हुने व्यवस्था छ ।
१३औँ महाधिवेशनमा आफूलाई सहयोग गरेका नेता खड्कालाई देउवाले उपसभापति बनाउने आश्वासन दिएका थिए । तर, भ्रष्टाचार कसुरमा सजाय काटेका उनलाई उपसभापति बनाउँदा आलोचना खेप्नुपर्ने बुझाइ देउवाको छ ।
महामन्त्रीमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की छन् । देउवाको प्राथमिकतामा कार्की छन् । अर्का नेता बालकृष्ण खाणले पनि महामन्त्रीमा दाबी गरेका थिए । तर, रक्षामन्त्री भएपछि उनलाई पदाधिकारीमा दाबी गर्न अप्ठ्यारो छ ।
सहमहामन्त्रीमा खुमबहादुर खड्कानिकट पुष्पा भुसाल, दलित समुदायबाट मानबहादुर विश्वकर्मा, पौडेल पक्षबाट आनन्द ढुंगाना, दिलेन्द्रप्रसाद बडूदेखि बलबहादुर केसीसम्मको दाबी छ ।नयाँ पत्रिका दैनिकमा खबर छ  ।