सर्वोच्चद्वारा लोकमानको घरमा म्याद तामेल, यस संगै अख्तियार प्रमुखको दिन गणना शुरु


काठमाडौं, सर्वोच्च अदालतको टोलीले बिगत एक महिनादेखि म्याद तामेली गर्न नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा मंगलबार बल्ल म्याद तामेल गर्न सफल भएको छ। 

सर्वोच्च अदालतले गत असोज ५ गते नै लोकमानलाई अदालतमा उपस्थिति हुन १५ दिने सूचना जारी गरेपानी पटक पटकको अबरोधका कारण म्याद टाँस्न असफल सर्वोच्चको टोलीले काठमान्डौ महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको हो । २ जना साक्षी राखेर म्याद टाँसेको सर्वोच्चको टोलीले म्याद तामेल भएको सम्पूर्ण प्रतिवेदन सहितको कागजात तामेलदारको टोलीले सर्वोच्चमा आजै पेश गरिसकेको जनाएको छ । म्याद तामेल गरे संगै अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दिन गणना शुरु भएको छ। 

अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा उनी आफैं उपस्थित नभए उनले आफ्नो प्रतिनिधि पठाउनु पर्नेछ । त्यसो त कार्कीले ३० दिनको म्याद थप्न पाउने छन् ।

यसैगरी सर्वोच्चले म्याद तामेलमा लापरबाही गरेको भन्दै अघिल्लो तामेलदार शम्भू बहादुर खत्रीलाई मंगलबार अपरान्हसम्म कारबाही गर्ने तयारी गरेको अदालत स्रोतले बताएको छ । लोकमानको घरमा म्याद तामेल गर्ने जिम्मा लिएका तामेलदार खत्री दसैंअघि उनकोघरमा म्याद टाँस्न जाने तयारी गरिरहेका बेला सर्वोच्चसंग सम्पर्कविहीन भएका थिए।