भारतीय प्रधानमन्त्री मोदीद्धारा संविधान कार्यान्वयन प्रयासको सराहना (छापाबाट)


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान कार्यान्वयनका लागि सबैलाई मिलाएर अघि बढाउन नेपालमा सरकार र राजनीतिक दलहरूले गरेको प्रयासको सराहना गरेका छन् । ‘संविधान कार्यान्वयनका पक्षमा भएको सकारात्मक मोडलाई भारतले नजिकबाट हेरिरहेको’ पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बताएका छन् ।प्रधानमन्त्री दाहालले एक महिनामा दोस्रो पटक भारतीय प्रधानमन्त्री मोदीसँग दुई पक्षीय भेटवार्ता गरेका हुन् । ब्रिक्स–बिमस्टेक रिट्रिट बैठकमा सहभागी हुन मोदीको निमन्त्रणामा भारतको गोवा आएका दाहालले आइतबार राति ११:१५ मा मोदीसँग दुई पक्षीय भेटघाट गरेका हुन् । प्रधानमन्त्री दाहालले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । शनिबार नै दाहाल, सी र मोदीबीच अलग्गै कुराकानीसमेत भएको थियो ।

आइतबारको दुई पक्षीय भेटमा यसअघि राजकीय भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजाने विषयमा दुवै देश गम्भीर भएर अघि बढ्ने तय भएको छ । त्यो सहमतिबाहेक अन्य केही विवाद भए आउँदो अक्टोबर २७ र २८ मा बस्ने संयुक्त आयोगले टुंगो लगाएर अघि बढ्ने पनि निर्णय भएको छ ।

प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराई सबैलाई समेटेर संविधान कार्यान्वयन गर्न वर्तमान सरकार लागिपरेको मोदीलाई सुनाएलगत्तै मोदीले प्रतिउत्तरमा ‘यहाँहरू लागिरहनुभएको जानकारी हामीले पाएका छौं’ भन्दै त्यसको सराहना गरेका थिए । नेपालको सफलताका लागि भारतीय सद्भाव सधैं रहने मोदीले प्रतिबद्धतासमेत जनाए । आजको कान्तिपुर दैनीकमा खबर छ ।