नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कपमा छनोट


अक्टोबर १५ – नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कपमा खेल्न छनोट भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि एसिया कपमा नेपालले खेल्न पाउने भएको हो। 

एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । त्यसैले विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको हो । 

थाइल्यान्ड १० अंक सहित एसियाली छनौटको पहिलो स्थानमा रहेर कोलम्बोमा हुने ग्लोबल क्वालिफायरमा छनौट भएको छ । नेपालले ३ जित र ३ हारसँगै ६ अंक जोड्यो र दोस्रो भयो । 

शनिबार भएको हङकङ र थाइल्याण्डबीचको खेलमा थाइल्यान्डले आयोजक हङकङलाई ७ विकेटले हरायो । त्यसमा हङकङ विजयी भएको भए एसिया कप खेल्ने टिमको टुंगो रनरेटको आधारमा हुने थियो । 

शनिबार नै भएको पहिलो खेलमा नेपालले चीनलाई ४ विकेटले हराएर २ अंक बटुल्न सफल भएको थियो । 

हङकङको मिसन रोड मैदानमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको लागि नेरी थापाले २२ र सीता रानामगरले २० रन बनाइन् । कप्तान रुविना क्षेत्री १० रनमा अविजित रहिन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चीनले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनायो । चीनका लागि ओपनर जोउ मियाओले १८ र फेङफेङ सोङले ३४ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ नेपाली कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १० रन दिएर २ विकेट लिइन् । त्यस्तै निर्मला कुमारी र करुणा भण्डारीले पनि १/१ विकेट लिए । रुविना म्यान अफ द म्यान चुनिइन् ।

महिला विश्वकपको एशियाली छनौटमा हङकङ र चीनलाई पछि पार्दै नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो । समूहमा ६ मध्ये पाँच खेलमा जित हासिल गरेको थाइल्याण्ड समूह बिजेता बन्दै विश्वकप छनौटमा पुगेको छ ।

नेपाल भने ६ मध्ये तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित समूह उपबिजेता बनेको हो । नेपालले चीनलाई दुवै खेलमा हराएको थियो भने हङकङबिरुद्ध १ जित निकालेको थियो । हङकङ र चीन भने विश्वकप र एशियाकप दुवैबाट बाहिरिएका छन् ।