अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवारबीच आरोप प्रत्यारोप


आउँदो अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवार हिलरी क्लिन्टन र डोनल्ड ट्रम्पले दोस्रो प्रत्यक्ष टेलिभिजन बहसका क्रममा एक अर्काप्रति तीतो आरोप प्रत्यारोप लगाएका छन्।

डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार रहेकी हिलरीले ट्रम्पले महिलाबारे गरेको अश्लील टिप्पणीले उनी राष्ट्रपति पदका लागि योग्य नभएको देखाएको बताएकी छन्।

ट्रम्पले चाहिँ हिलरीले विदेशमन्त्री हुँदा गोप्य इमेलहरु असुरक्षित ढंगले चलाएको भन्दै उनी जेलमा हुनुपर्ने बताए।

वादविवाद

सेन्ट लुइसमा भएको बहसमा दर्शकले सोधेको प्रश्नमा ट्रम्प र हिलरीले स्वास्थ्यसम्बन्धी, मुसलमान र आप्रवासीबारे धारणा र सिरिया द्वन्द्वबारे वादविवाद गरेका थिए।

ट्रम्पले हिलरीलाई पटकपटक झुठो बोलेको आरोप लगाएका थिए भने हिलरीले ट्रम्पलाई सँधै अवास्तविक संसारमा बाँच्ने आरोप लगाएकी थिइन्।

तर उनीहरुले एक अर्काबारेको के कुरामा चाहिँ सम्मान गर्छन् भन्ने अन्तिम प्रश्नमा हिलरीले ट्रम्पको सन्तानको प्रशंसा गरेकी थिइन्। ट्रम्पले चाहिँ हिलरीले चुनावबाट पछि नहटेको प्रति उनको सम्मान रहेको बताए।

रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार रहेका डोनल्ड ट्रम्पले बहस शुरु हुनु अघि पूर्व राष्ट्रपति तथा हिलरी क्लिन्टनका पति बिल क्लिन्टनले यौन दुराचार गरेको आरोप लगाउने महिलाहरुलाई साथमा राखेर पत्रकार सम्मेलन गरेका थिए।

क्षमायाचना

सन् २००५ मा ट्रम्पले महिलाहरुलाई अश्लील शब्द प्रयोग गरेको र विवाहित महिलासँग यौनसम्बन्ध राख्न चाहेको भनी बताएको सम्बन्धी एउटा पुरानो अडियोलाई गत सप्ताहन्तमा, वासिङ्टन पोष्टले सार्वजनिक गरिदिएपछि त्यसले ठूलो होहल्ला मच्चाएको छ।
उनकी श्रीमति मेलानियाले पनि ट्रम्पको उक्त टिप्पणीको आलोचना गरेकी छन्। साथै रिपब्लिकन पार्टीका एक दर्जन भन्दा बढी वरिष्ठ नेताहरुले उक्त सामाग्री सार्वजनिक भएपछि उनीसँगको समर्थन फिर्ता लिने बताएका थिए।

उनीहरुले ट्रम्पलाई राष्ट्रपतिय चुनावबाट पछि हट्न र उपराष्ट्रपतिका उम्मेदवार माइक पेन्सलाई अघि सार्न आह्वान गरेका थिए। ट्रम्पले भने आफ्ना टिप्पणीबारे क्षमायाचना गरे पनि राष्ट्रपतिय चुनावबाट पछि नहट्ने बताएका थिए।-बीबीसी नेपाली सेवाबाट