नागरिकको सहजताका लागि दसैंअवधीभर प्रहरी र सेनाको नि:शुल्क बस सेवा (रुट सहित)


काठमाण्डौ – दसैंमा यातायातका साधनहरु कम चल्दा नागरिकमा पर्ने जाने असुविधाका कारण सहज आवागमनमा सघाउन नेपाल प्रहरीले शनिबारबाट नि:शुल्क बस सेवा सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशै अवधीभर मिति २०७३-०६-२२ गते देखि निम्न ३ वटा रूटमा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको जानकारी गराउँदै सेवाको सदुपयोग गर्न अनुरोध गरेको छ। 

प्रधान कार्यालयका अनुसार पहिलो रुटमा बा१ग २५९१ नम्बरको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपन्डोल, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, जमल, दरबारमार्ग हुँदै नक्सालसम्म सञ्चालित छ ।

दोस्रो रुटअन्तर्गत बा१ग २४७४ नम्बरको बस नक्सालबाटै सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्सालसम्म र तेस्रो रुटमा बा१ग २६०८ नम्बरको बस सञ्चालन भइरहेको छ । नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नयाँबसपार्क, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, र रातोपुल हुँदै नक्सालसम्म चलेको प्रधान कार्यालयले जनाएको छ । 

दसैंमा सवारी संख्या कम हुँदा यात्रुले हैरानी पाउने भन्दै नेपाली सेनाले समेत नवमीबाट तीन दिन नि:शुल्क बस चलाउने घोषणा गरेको थियो । सेनाले बिहान ११ देखि दिउँसो ४ बजेसम्म ८ रुटमा बस चलाएको छ ।