आज बडा दशैंको सातौं दिन, घर घरमा फूलपाती भित्र्याईदै


काठमाडौँ, – आज बडादशैंको सातौ दिन अर्थात फुलपाती। देशभर नेपालीहरुका घरघर, शन्तिपीठ र दसैंघरमा धुमधामको साथ फूलपाती भित्र्याइँदै छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ।

आज बिहानदेखि नै देवी तथा कालरात्रि भगवतीको पूजा आराधनाको लागि देशभरका शक्तिपीठहरुमामा दर्शनार्थीहरुको घुइँचो लागेको छ। आजैका दिन गोरखाबाट ल्याएको फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन, मगर र नेवार जातिका ८ जनाले काठमाडौंको जमलसम्म ल्याई पर्सेर हुनमानढोकास्थित दसैंघरमा विधिपूर्वक भित्र्याउने गरिन्छ।

फूलपातीको दिन पारेर हर्षोउल्लासका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारी सेवा रहेका अधिकारीहरु, आशागुर्जा टोली, पञ्चेबाजा, सांस्कृतिक नाचगान सहितको समूह खटिने गर्छन्।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको छ।