४४४ घर सहित लाप्राकमा बन्ने नमूना वस्तीको प्रधानमन्त्री दाहालद्वारा शिलान्यास


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भुकम्प पिडितहरुका लागी गोरखाको लाप्राकका बनाउन लागेको एकीकृत नमूना वस्तीको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका छन् ।

एनआरएनले गतबर्ष वैशाखमा गएको महाभूकम्पबाट घरबारविहीन भएकाहरुका लागि सम्पूर्ण सुविधायुक्त एक हजार नमूना घर बनाइदिने घोषणा गरेको थियो । त्यसका लागि ३५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

एनआरएनको गुरुयोजना अनुसार लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ४४४ घरको नमूना बस्ती बनाइने छ र त्यहाँ लाप्राकका भूकम्प पीडितहरुलाई पुनर्बास गराइने छ । एनआरएनले ६१२ घर बनाउन चाहेको छ । तर, जग्गा अपुग भएकाले अहिले ४४४ बन्नेछ भने बाँकी १५० घरका लागि नयाँ ठाउँ खोजिनेछ ।

राष्ट्रपतिको उपस्थितिमा पुनर्निर्माण प्राधिकरण र एनआरएनबीच नमूना वस्ती निर्माणको सम्झौता भएको थियो । प्रधानमन्त्री प्रचण्डले एनआरएनको कामको प्रशंसा गर्दै भने,  ‘यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो । यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ ।

एनआरएनले देखाएको राष्ट्रिय भावना सबैका लागि प्रेरणादायी रहेको भन्दै उनले ‘एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने विश्वास छ ।’

मूख्य सचिव डा. सोमलाल सुवेदीले वस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको भन्दै कुनै समस्या भए साझेदारी गर्न सरकार तयार रहेको बताए ।

एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे । एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने घलेले जानकारी दिए ।

अध्यक्ष घलेका अनुसार नमूना बस्तीमा गैरआवासीय नेपाली संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।

एकीकृत वस्तीमा बन्ने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । साथै सोलार इनर्जी, अपांगमैत्री संरचना हुनेछन् ।

बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताए । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने छ ।