टाढिएका आफन्तलाई नजिक्याउने माध्यम दसैँ


पोखरा । पोखरामा बुधबार आयोजित एक समारोहका वक्ताले दसैँलाई टाढिएका आफन्तलाई नजिक्याउने माध्यम भएको बताएका छन् । स्वतन्त्र पत्रकार संघ जिल्ला समिति कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दसैँका विषयमा पछिल्लो समय विभिन्न टिका टिप्पणी भए तापनि दसैँमा आत्मियता र हार्दिकता रहेको बताए । उनले थपे, जो जहाँ जस्तो अवस्थामा रहे तापनि सम्पूर्ण टाढिएका आफन्तलाई एकत्रित गराई आत्मियता बढाउनु नै दसैँ पर्वको सबल पक्ष भएको बताए ।

कार्यक्रमका विशेष अतिथि टोल विकास संस्था नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले दसैँलाई जो जसले जसरी परिभाषित गरेपनि यो आम नेपाली दाजुभाइ, दिदीबहिनीको साझा पर्व भएको र यसलाई सबैले समान रूपमा मनाउनुपर्नेमा जोड दिए ।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय पार्षद उमाकान्त शर्मा र दिलीप राईले दसैँ पर्वलाई मनाउने सन्दर्भमा लामो समयदेखि हुने खाने र हुँदा खानेका बीचमा विभेद रहेकोमा त्यसलाई कम गर्नका लागि जसरी स्वतन्त्र पत्रकार संघको छातामुनी सबै विचारधाराका पत्रकार अटाएका छन् त्यसरी नै दसैँ मनाउन प्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा ऋषभ फिल्मस प्रोडक्सनका अध्यक्ष सागर शाह, प्रविण पुन, पत्रकारहरू श्रीभद्र पौडेल, निशा सुनार, तिर्सना गुरुङ, तिलक थापा, पितमबहादुर सेन, संगीता सुनार, अशोक चापागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वतन्त्र पत्रकार संघ जिल्ला समिति कास्कीका अध्यक्ष वीरेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असफल गौतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण रानाभाट सारथीले गरेका थिए ।