एनआरएनको प्रतिनिधित्व गर्दै बिनय कार्की तेक्वान्दो खेल्न अमेरिका जाने


– वसन्त रानाभाट,बार्सिलोना

एघारौ इन्टरनेशल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपमा एनआरएनए अष्ट्रियाको तर्फबाट बिनय कार्कीले सहभागिता जनाउँने भएका छन्। आगामी अक्टोबर १४ र १५ तारिख अमेरिकाको पोर्टल्याण्डमा हुने प्रतियोगितामा कार्कीले सहभागिता जनाउँने भएका हुन्।

युरोपमा तेक्वान्दोबाट ठुलो सफलता हासिल गरिसकेका कार्कीले दुई बर्ष अघि लण्डनमा सम्पन्न दशौ इन्टरनेशल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपमा पनि भाग लिएका थिए। कार्कीले लण्डनमा सम्पन्न प्रतियोगितामा गोल्ड र सिल्भर गरी दुई पदक जितेका थिए। हाल भने पोर्टल्याण्डमा हुने प्रतियोगितामा उनले एनआरएनए राष्ट्रिय समन्वय परिषद अष्ट्रियाको तर्फबाट सहभागिता जनाउँन लागेको पिता बिकास कार्कीले जानकारी दिए।

कार्कीले भने,” बिनयले अष्ट्रियाको राष्ट्रिय टिमबाट बिभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ,यस पटक एनआरएन अष्ट्रियावाट सहभागिता जनाउँने निधो गरेका छौ। आशा छ प्रतियोगितामा राम्रो गर्ने छ। “सहभागिताका लागि आँफैले व्यक्तिगत खर्चमा अमेरिका लैजान लागेको समेत उनले बताए। बिनयले १२ देखि १५ बर्ष अन्तर्गत ४१ किलो तौल समुहमा क्यिउरेगी र पुम्सेमा छुट्टाछुट्टै उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

के – हो आईओएफटिसी ?

इन्टरनेशल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप तेक्वान्दो प्रतियोगिता बिशेष त आईओएफटिसीको नामले परिचित रहेको छ। हाल सम्म आईओएफटिसीले १० औ प्रतियोगिताहरु सम्पन्न गरेर हाल ११ औ संस्करण अमेरिकाको पोर्टल्याण्डमा आयोजना गर्ने तयारी गरिरहेको छ।

सन् २००० मा पुर्व युबराज दिपेन्द्र वीरबिक्रम शाहले काठमाडौमा उद्घाटन गर्दै यो प्रतियोगिता सुरु भएको थियो। हाल भने प्रतियोगिताले अन्तराष्ट्रिय स्तरमा नै निकै चर्चा कमाएको छ।  हाल सम्म नेपाल,भारत,हङ्कङ्,बेलायत र अमेरिकामा गरी १० बटा प्रतियोगिताहरु सम्पन्न भईसकेका छन्। दुई बर्ष अघि १० औ संस्करण लन्डनमा सम्पन्न भएको हो भने अमेरिकाको पोर्टल्याण्डमा हुन लागेको यो पाँचौ पटक हो। प्रतियोगितामा संसारभरका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाउँदै आएका छन्।

बिनयलाई जी वान च्याम्पियनसिपमा पनि अबसर

अष्ट्रियामा बसेर तेक्वान्दोमा सफलता चुमीरहेका नेपाली मुलका खेलाडी कार्कीले सातौ युरोपियन तेक्वान्दो काडेट च्याम्पियन्सिप प्रतियोगितामा राम्रो प्रर्दशन गरे पछि अन्य ठुला अबसरहरु पनि प्राप्त गरेका छन्। कार्कीले काडेट च्याम्पियन्सिपमा राम्रो  प्रर्दशन गरे पछि बेलग्राट ओपन जी वान च्याम्पियनसिप र क्रोयसीया ओपन जी वान च्याम्पियनसिपमा भाग लिने अबसर पाएका हुन्।

उनलाई अक्टोबर २९ र ३० तारिख सर्भियामा हुने बेलग्राट ओपन र नोभेम्बर १५ र १६ मा हुने क्रोयसीया ओपन जी वान च्याम्पियनसिपका लागि अस्ट्रियाको तेक्बान्दो फेडेरेसनले छनोट गरेको पिता बिकास कार्कीले जानकारी दिए। हालै सेक्टेम्बर ८ देखी ११ तारिख सम्म रोमानियामा सम्पन्न सातौ युरोपियन तेक्वान्दो काडेट च्याम्पियन्सिपमा बिनयले नवौ स्थान हासिल गरेका थिए। अमेरिकाबाट फर्के लगत्तै यी दुई ठुला प्रतियोगिताको तयारीमा जुट्नु पर्ने हुँदा बिनयको व्यस्तता समेत निकै बढेको छ।

बिनयले सन् २०१६ मा मात्र ११ पदक जितिसकेका छन् । अष्ट्रियाको चर्चित क्लब ओबर्न ड्रफ,साल्सब्रगबाट प्रतिस्पर्धा गरिरहेका उनले ८ बटा गोल्ड र ३ सिल्भर सहित ११ पदक जितेका हुन् । ६ बर्षको उमेरमा खेल्न सुरु गरेका बिनयले ,यो सँगै हाल सम्म ७१ पदकहरु जितिसकेका छन्।