राजधानीका निजी विद्यालयमा बम बिष्फोट ,तीनजना पक्राउ


मंगलबार बिहानै नै राजधानीका केही निजी विद्यालयमा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ।
तीमध्ये आकाशदीप माध्यामिक विद्यालय र मनकामना उच्च माध्यामिक विद्यालयमा त्यस्ता विस्फोटक पदार्थ पड्किएको महानगरीय प्रहरी कार्यालयका एसएसपी शरद चन्दले बताए। तर कुनै किसिमको क्षति नभएको उनले जनाए।
अन्य विभिन्न विद्यालयमा आठवटा शंकास्पद वस्तु भेटिएको र तीमध्ये केही पड्कने खालको रहेको बताइएको छ।
ती विस्फोटक पदार्थलाई सेनाको टोलीले निस्क्रिय पारेको प्रहरीले जनाएको छ।

एउटा नाम नसुनिएको समूहको पर्चाहरु घटनास्थलहरुमा भेटिएका छन्। घटनामा संलग्न भएको आशंकामा तीनजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एसएसपी चन्दले जानकारी दिए। उनले भने, “विस्फोटक पदार्थबाट कुनै मानवीय वा भौतिक क्षति भएको छैन। तर यसले नागरिकमा त्रास फैलाएकोले हामीले उपत्यकाका सबै विद्यालयमा सुरक्षा व्यवस्था कडा पार्न सुरक्षाकर्मी खटाएका छौं।”

भेटिएका विस्फोटक पदार्थमध्ये दुईवटा प्रेसरकुकर बम भएको र बाँकी, केवल मानिसलाई झुक्याउनका लागि बम जस्तो बनाएर कागज राखिएको र त्यहाँ वरपर पर्चा फालिएको उनले बताए। विद्यालयहरुमा विस्फोटक पदार्थ भेटिएपछि निजी विद्यालय तथा उच्चमाध्यामिक विद्यालयहरुका छाता संगठनहरु प्याब्सन, एनप्याब्सन र हिसानले सुरक्षाको चिन्ता जनाउँदै संयुक्त छलफल गर्दैछन्।

प्याब्सनका महासचिव तथा प्रवक्ता डीके ढुंगानाले बीबीसीलाई भने, “विद्यालयहरुमा यसरी बम भेटिएपछि हामीले आकस्मिक छलफल गर्न लागेका हौं। त्यसपछि सुरक्षाको व्यवस्थाबारे हामी सरकारसँग पनि छलफल गर्छौं।”- बीबीसी नेपाली सेबा