पोउवा संघका नवनिर्वाचित अध्यक्ष पाखिलेद्वारा पदभार ग्रहण


पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र विकासको लागि साझा मञ्च बनाउने उद्घोष गरेका छन् । ‘पोखराको समग्र विकासको लागि निजी क्षेत्र, विज्ञ र सामाजिक अभियन्ताहरुको साझा मञ्च बनाउन जरुरी देखिएको छ,’ सोमबार संघको सचिवालयमा पदभार ग्रहण गर्दै उनले भने, ‘सरकारी तवरबाट जस्तै यो मञ्चले पनि समग्र पोखराको विकास निर्माणको लागि स्पष्ट खाका र योजना बनाउने छ ।’

उनका अनुसार बृहत्तर पोखरा विकास मञ्चको रुपमा क्रियाशील रहने संस्थाले योजना मात्र बनाउने छैन, त्यसको कार्यान्वयनको लागि सरोकारवाला निकायहरुसँग सहकार्य र पैरवी समेत गर्नेछ ।

अध्यक्ष पालिखेले यस अगाडि देखि नै प्रदेश नम्बर ४ का सम्भावनाबारे प्रदेशका विभिन्न क्षेत्रमा पुगेर बृहत छलफल गरिएको प्रसंग झिक्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । यो अभियानले बनाउने खाका प्रदेश नम्बर ४ को लागि निजी क्षेत्रले बनाएको विकास निर्माणको खाका बन्नेछ ।

उनले संघका पूर्व अध्यक्षहरुको सुभाव र निर्देशनमा आफ्नो कार्य समितिले उद्योगी÷व्यवसायीको हित तथा समग्र पोखराको विकास निर्माणको लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अध्यक्ष पालिखे तथा महासचिव दामु अधिकारी मंगलबार नै राजधानी प्रस्थान गर्ने भएका छन् । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको लिञ्जी सहरको पहलमा तिब्बत सरकारले पोखरालाई दिने भनेको २ हजार थान सोलार लाइट पोलको सम्झौताको पहल गर्न उनीहरु राजधानी जान लागेका हुन् ।

राजधानी रहँदा अध्यक्ष पालिखेले पर्यटन यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरोकारवाला मन्त्रालयसँग छलफल गर्नेै कार्यक्रम रहेको छ । सो अवसरमा पर्यटन नम्बर प्लेट ( हरियो नम्बर प्लेट) सम्बन्धमा देखिएको अन्यौलतालाई चिर्नको लागि पहल गर्ने बताइएको छ ।

यसअघि संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले सोमबार नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघको सचिवालयमा रहेको अध्यक्षको कार्यकक्षमा स्वागत गर्दै पदासिन गराएका थिए ।

नवनिर्वाचित अध्यक्षलाई पदभार ग्रहण गराउँदै निवर्तमान अध्यक्ष थापाले देश संघीय संरचनामा गएको यो अवस्थामा पोखरा उद्योग वाणिज्य संघले आफूलाई प्रदेश नम्बर ४ को केन्द्रीय संघको रुपमा विकास गराउनु पर्नेमा जोड दिए । सदस्यता वृद्धिको लागि नयाँ कार्यसमितिले विशेष पहल गर्नु पर्ने उनको धारणा थियो ।

नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै संघका कार्यकारी निर्देशक टोपबहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिए ।

संघको सचिवालय दैनिक कार्य सम्पादनको अतिरिक्त कार्यसमितिले अगाडि सारेको योजनाहरुलाई कार्यान्वयन गर्न सदैव तत्पर रहेको बताउँदै उनले नविनतम योजनाका साथ यो कार्यसमिति अगाडि बढ्ने आशा व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित महासचिव दामु अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य राजेन्द्रकुमार लालचन र पूर्व अध्यक्ष संजीवबहादुर कोइरालाको पनि उपस्थिति रहेको थियो ।