म्यान्चेस्टर युनाइटेड युरोपा लिगमा पनि पराजित


सेप्टेम्बर १६, स्पेन, युरोपियन फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको पहिलो खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ । शुक्रबार नेदरल्यान्ड्समा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई नेदरल्याण्ड्सको फेयनुर्डले १–० ले पराजित गर्यो ।

म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरीन्होले गत शनिबार सम्पन्न इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग पराजित टोलीको सुरुवाती एघार खेलाडीमा ८ जना परिवर्तन गरी नयाँ टोलीलाई फेयर्नुड विरुद्ध मैदानमा उतारे पनि परिणाम आफ्नो पक्षमा ल्याउन सकेनन् । उता अर्को इङ्लिस क्लब साउथह्याम्पटनले भने चेक गणतन्त्रको स्पार्टा प्रागलाई ३–० ले हराउँदै युरोपा लिगमा विजयी सुरुवात गरेको छ ।

युरोपा लिगको समूह ए मा म्यानचेस्टर युनाइटेड अन्तिममा छ । यसै समूहको अर्को खेलमा टर्कीको फेनरबाचे र युक्रेनको जोर्याले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । युरोपा लिग फुटबलका अन्य खेलमा अष्ट्रियाको र्‍यापिड भिएना, रुसको जेनीथ, ग्रिसको ओलम्पियाकोस, बेल्जियमको एन्डरलेच्ट, जर्मनीको साल्का र स्पेनको भियारियाल विजयी भएका छन् ।