बिपी कप भलिबलको उपाधि मगर संघ स्पेनले उचाल्यो


बार्सिलोना / नेपाल मगर संघ स्पेनले बिपी कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सोमबार बार्सिलोनामा सम्पन्न प्रतियोगिताको फाईनलमा बार्सिलोना नेपाली समुहलाई पराजित गर्दै संघले उपाधि जितेको हो। बिजेता टिमले नगद ५ सय १ युरो ट्रफी ,मेडल र प्रमाण पत्र पाप्त गरेको छ भने उप बिजेता बार्सिलोना नेपाली समुहले पनि नगद २ सय ५१ युरो ट्रफी ,मेडल र प्रमाण पत्र सहित पुरस्कृत भएको छ। टेक पुन मगर टिम लिडर रहेको बिजेता टोलिमा ईश्वर गुरुङ जीत पुन, दल बहादुर सारु मगर, खगेन्द्र श्रेष्ठ, ओमकार थापा मगर,एकेन्द्र बहादुर हमाल र भरत बुढा मगर रहेका थिए।

नेपाली जनसम्पर्क समिती स्पेनले विश्वेश्वर प्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका थिए। एनआरएनए स्पेन,तमु समाज स्पेन र आयोजक नेपाली जनसम्पर्क समितिले पनि प्रतिस्पर्धा गरेका थिए। बिजेता टिमका खगेन्द्र श्रेष्ठ उत्कृष्ट खेलाडी र एनआरएन स्पेनका तुलसी गुरुङ अनुशासित खेलाडी घोषित भए।

गत बर्ष प्रतियोगितामा आठ बटा समूहले भाग लिए पनि यस बर्ष भने पाँच बटा टिमले मात्र सहभागिता जनाए। लगातार तिन बर्ष सम्म उपाधि जित्दै किर्तिमानी ह्याट्रिक गरेको गल्कोट समाज स्पेनले समेत प्रतियोगितामा सहभागि बन्न सकेन।

प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले बिजयी खेलाडीलाई मेडल लगाउँदै हौसला प्रदान गरे। समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा स्पेन स्थित संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधि सहभागी थिए। समितिले हरेक बर्ष आयोजना गर्ने भलिबल प्रतियोगिता हेर्न स्पेनबासी नेपालीहरु कार्यक्रम स्थल पुगेका थिए।