आलाभेससँग बार्सिलोनाको अप्रत्यासित हार


काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा नवप्रवेशी आलाभेसबाट अप्रत्यासित हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा बार्सिलोना २-१ गोल अन्तरले पराजित भएको हो । जुन खेलमा प्रशिक्षक लुइस इनरिकले लिओनल मेस्सी र लुइस स्वरेजलाई सुरुवाति ११ मा राखेका थिएनन् ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा आलाभेसले ३९ औं मिनेटमा गोल गरेको थियो । तर, दोस्रो हाफको सुरुमा नै बार्सिलोनाका म्याथुले बराबरी गोल फर्काए ।

खेलको ६४ औं मिनेटमा आलाभेसका गोमेज परेजले गोल गरे । त्यसको चार मिनेट अघि मात्र डेनिस स्वरेजको स्थानमा मेस्सी मैदान प्रवेश गरेका थिए ।

६४ औं मिनेटमा इनिष्टाको ठाउँमा टुरान र ६६ औं मिनेटमा पाकोको ठाउँमा स्वरेज मैदान प्रवेश गरे । तर, बार्सिलोनाको हार टरेन ।

नाउ क्याम्पमा २००० पछि आलाभेसले पहिलो जित हात पारेको छ । यो हारसँगै बार्सिलोना रियल मड्रिडभन्दा ३ अंकले पछाडि परेको छ ।

रियलले ओसासुनालाई ५-२ ले हराएको थियो, जुन खेलमा युरोकपपछि मैदान फर्किएका रोनाल्डोले पनि गोल गरेका छन् ।