थाइल्याण्ड-नेपाल फ्रेण्डसीप साँझ सम्पन्न


थाइल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले थाइल्याण्ड-नेपाल फ्रेण्डसीप रिसेप्सन सम्पन्न गरेको छ । कार्यक्रममा उसले नेपाललाई निरन्तर सहयोग पुर्‍याउँदै आएका १०५ व्यक्ति तथा संस्थालाई सम्मान पनि गरेको छ ।

सेप्टेम्बर १ तारिखमा बैंककको होलिडे इन् होटलमा आयोजित एक बिशेष कार्यक्रममा बोल्दै एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्ऽराज ढकालले थाइ जनता र नेपाली जनताबीच बढ्दै गएको सकारात्मक सम्बन्धलाई सम्मान गर्न र उक्त सम्बन्धलाई अझ प्रगाढ र दिगो बनाउनको लागि यस कार्यक्रमको आयोजना गरिएको बताए ।

३ वर्षदेखि एनआरएनए थाइल्याण्डको नेतृत्व लिएका अध्यक्ष ढकालले आफ्नो नेतृत्वको सुरुवात देखिनै पिपुल टू पिपुल डिप्लोमेसीमा जोड दिदै आएका थिए । ढकालले भने, ‘३ बर्षदेखिको निरन्तर प्रयासले आज नेपाललाई जनस्तर बाट निसर्त सहयोग गरिरहेका नेपालका सच्चा मित्रहरुलाइ एउटै फोरममा भेला गर्न र सम्मान गर्न सम्भब भएको हो ।’

किंग मोंकुट युनिभर्सिटीका प्राध्यापक समेत रहेका ढकालले भने ‘जब जनस्तरको सम्बन्ध विस्तार र प्रगाढ हुन्छ सरकारी तहमा पनि कुटनीतिक सम्बन्ध सुदृढ भएर जाने भएकोले एनआरएन थाइल्याण्डले नेपाल सरकारका कुटनीतिक प्राथमिकतामा परेको बिषयहरुलाई जनस्तरबाट सहयोग गर्ने नीति हाम्रो छ ।’

गत बर्षको भूकम्पको समयमा करिब ६० लाख रुपैयाँ नगद सहयोग स्वत स्फुर्त रुपमा एनआरएनए थाइल्याण्ड मार्फत उठेको थियो भने ६ टन भन्दा बढी सहयोग सामग्री नेपाल एनआरएन थाइल्याण्डले नेपाल पठाएको थियो ।

उक्त समरोहमा बोल्दै थाइल्याण्डकालागि नेपालका राजदुत खगनाथ अधिकारीले यस कार्यक्रमले दुई देशबिचको सम्बन्धको इतिहासमै एउटा नयाँ सुरुवात भएको र दुइ देशबीचको सम्बन्धमा यसले निश्चयनै नयाँ उचाइ थप्ने बताए ।

त्यस्तै गरी नेपालका थाइ मित्रहरुको प्रतिनिधित्व गर्दै बिश्व परिचित सेन्ट्रल पटना समुहका उपाध्यक्ष क्रिट कुनप्लिनले नेपाली जनता र थाइ जनताबीचको सम्बन्ध भगवान बुद्धको जन्म देखिनै सुरुवात भएको र यसलाई संस्थागत गर्न एनआरएनए थाइल्याण्डले पछिल्ला दिनमा लिएका कदमहरुबाट आफु निकै प्रभावित भएको बताए ।

कुनप्लिनले आफु सगरमाथा बेसक्याम्पसम्म पुग्दाको अनुभब समेटर एक पुस्तक लेखेका छन् र जसको सम्पूर्ण आम्दानी नेपालका भूकम्पपीडितलाई एनआरएनए थाइल्याण्ड मार्फत सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा उपस्थित नेपाललाई उल्लेखनीय सहयोग गर्ने थाइ नागरिकहरुको प्रोफाइलहरु समेटेर एनआरएनए थाइल्याण्डका महासचिब रबि महर्जनले एक भीटिआर पनि प्रस्तुत गरेका थिए भने उपाध्यक्ष असाजिता अवालेले सम्पूर्ण सहयोगी संघ संस्था एबम व्यक्ति हरुलाई धन्यवाद ब्यक्त गरेकी थिइन् ।

कार्यक्रममा सम्मानित हुनेमा नेपालको बिषयमा लेख्ने लेखक, नेपालको कला र संस्कृतिका प्रवर्धक, पत्रकार, हिमाल आरोही , नायक, नायिका, पूर्व मन्त्री, सेना एवम् प्रहरीका अधिकृत, लुम्बिनीको बिकासमा सहयोग पुर्‍याउने, नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने, नेपालसँग नजिक बुद्धिस्ट संघ संस्था, भूकम्पमा सहयोग गर्नेहरुदेखि नेपाल फेस्टिवलमा सहयोग पुराउने थाइल्याण्डका चर्चित व्यक्ति एवम् संस्थाहरु रहेको संघका कोषाध्यक्ष गाबो (कान्छा) गुरुङले बताए ।

त्यसमा पहिलो सगरमाथा आरोहीदेखि थाइल्याण्डकै सर्बप्रतिष्ठित ब्यापारिक समूह सेन्ट्रल पटना समेत परेका थिए । अध्यक्ष ढकाल र राजदुत अधिकारी ले संयुक्त रुपमा कदर पत्र प्रदान गरेर उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा स्थानीय थाइ नेपाली संघ र किरात चुम्लुङका कलाकारहरुले नेपाली नृत्य हरु प्रस्तुति गरेका थिए भने नेपाली गायक आनन्द कार्कीको सोलो कन्सर्ट दिएका थिए । कार्कीका कर्णपि्रय गीतहरुले सिंगो हलनै नचाएको थियो । उनले गित गाउदा थाइहरु समेतनाच्दै स्टेज नजिक पुगेका थिए ।

५७ वर्ष लामो नेपाल र थाइल्याण्डको कुटनीतिक समन्धमा पहिलो पटक भएको यस कार्यक्रमले नयाँ उचाइ प्रदान गर्ने थाइ तथा नेपाली सहभागीहरुले टिप्पणी गरेका थिए ।