नेपालीनेपाली डटकमको समाचार संयोजकमा पत्रकार तिवारी


बार्सिलोना/ युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमको मनोरन्जन विधाको समाचार संयोजकमा पत्रकार प्रकाश तिवारी नियुक्त भएका छन्। एनएनडिसी मिडिया प्रालि द्वारा संचालित मिडियाले अनुभवी पत्रकार तिवारीलाई संयोजकको जिम्मेबारी दिएको हो। एक दशक भन्दा लामो समय कलाकारिता तथा पत्रकारिता क्षेत्रमा दख्खल रहेका पत्रकार तिवारीसँग यस अघि नेपाल तथा युरोपमा गरी बिभिन्न मिडियाहरुमा काम गरेको अनुभव रहेको छ।

पत्रकार तिवारीसँग करिब १३ बर्ष अगाडि पोखराबाट प्रकाशित पत्रिका नव पोखरा टाईम्समा संबाददाताको रुपमा काम गरेको अनुभव छ। यस्तै राष्ट्रिय मासिक पत्रिका मधुरसमा अन्तराष्ट्रिय प्रतिनिधिको रुपमा पनि उनले काम गरे।

आर्दशसमाज,हटलाईन,समाधान,पोखरापत्र लगायत पोखराबाट प्रकाशित हुने पत्रिकाहरुमा पनि पत्रकार तिवारीका लेखहरु समेत प्रकाशित हुँदै आएका थिए। पत्रकार तिवारी एक सफल कलाकारको रुपमा समेत परिचित छन्। नेपाल टेलिभिजनबाट प्रसारण भएको नेपाली टेली चलचित्र सुनौलो संसारको ६० भाग सम्म उनले मुख्य भूमिकामा रही अभिनय समेत गरेका थिए।

यस्तै युरोपमा पत्रकार तिवारीले स्विस नेपाली समाजबाट नेपाली, अंग्रेजी र जर्मनी गरी तिन भाषामा प्रकाशित हुने त्रैमासिक छापा पत्रिका “नमस्कार” को नेपाली सस्करणको सह-सम्पादकको रुपमा काम गरे। पत्रकार तिवारीले सन् २००८ मा स्विसनेपाल डटकम स्थापना गर्दै सन् २०१२ सम्म आफै प्रमुख भएर काम गरे। युरोपमा नै रहेर उनले करिव ३ बर्ष स्पेनखबर डटकममा सम्पादकको रुपमा काम गरे भने स्पेन चौतारी नामक अडियो तथा भिडियो कार्यक्रमको प्रस्तोता रुपमा पनि दर्शक स्रोता मन जिते। यस्तै पत्रकार तिवारीसँगनेपालीपत्र डटकममा समेत स्पेन सम्बाददाताको रुपमा काम गरेको अनुभव रहेको छ।

नेपालीनेपाली डटकमका प्रधान-सम्पादक बसन्त रानाभाटले पत्रकार तिवारीलाई टिममा स्वागत गर्न पाउँदा खुशी ब्यक्त गरेका छन्। उनले भने,” प्रबासबाट कलम चलाउँन समयका कारण धेरै गाह्रो छ,अनुभवी पत्रकारहरुले छुट्टा छुट्टै ई मिडिया खोलेर हैन,एउटै मिडियामा काम गर्दै गुणस्तर बढाउँन सक्नु पर्छ। यसको लागि नेपाली नेपाली डटकमले बिगत दुई बर्ष देखि प्रयास गरिरहेको छ।” पत्रकार तिवारी आफैमा कलाकार भएकाले पनि मनोरन्जन विधालाई धेरै माथि पुर्याउँने बिश्वास रानाभाटले लिएका छन्।

नेपालीनेपाली डटकममा प्रधानसम्पादक रानाभाट लगायत,नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव प्रकाश ढकाल, सन्देश श्रेष्ठ, मोहनराज बराल, कृष्ण बहादुर रानाभाट,लक्ष्मण शर्मा,राजाराम पौडेल लगायतको टिम रहेको छ।