राना गाउँ भाल्डाँडा होमस्टेका संचालकहरुलाई तालिम


पोखरा । तनहुँ जिल्लाको डुम्रे बजारबाट १३ कि.मी.उत्तर तर्फ पर्ने भानु नगरपालिका वडा नं.४ राना गाउँ भाल्डाँडा होमस्टेका संचालकहरुलाई ३ दिने कुकिङ तथा हाउस किपिङ तालिम दिइएको छ ।

एशियन फोरमले जे एम डि आई होस्ट परियोजना अन्तर्गत विगत डेढबर्षदेखि तनहुँ र कास्कीका २ गाउँमा होमस्टे संचालन गर्दै आएको छ । होमस्टे संचालकहरुको क्षमता अभिवृद्धि गर्दै होमस्टेमा आएका पाहुनाहरुलाई मिठो र स्वस्थकर खानाका परिकारहरु पस्कन सकुन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको परियोजना संयोजक राजु राइले बताए ।

साउन १० देखि १२ गतेसम्म भएको उक्त तालिममा प्रमुख प्रशिक्षक अजितकुमार आचार्यले पाहुना कोठाको सरसफाई र सजावट सहित स्थानीय सामाग्रीहरुकै प्रयोग गरेर स्वदेशी तथा विदेशी खानाका परिकारहरु बनाउने प्रशिक्षण दिएका थिए ।

मकैको सुप, प्यान केक, भेज फिस, थुप्पा, काथिरोल, मायोनज सस, चिकन करी, विर्यानी, ककटेल समोसा, पोर्क बार बी क्यू, रमपन्च, कोल्ड टि लगायतका परिकार बनाउन सिकाइएको थियो ।

राना गाउँ भाल्डाँडा होमस्टेका सदस्यहरुसहित उक्त गाउँका अन्य महिलाहरु समेतको सक्रिय सहभागिता रहेको उक्त तालिममा कुकिङका अनुभवी स्थानीय चन्दुबहादुर रानाले पनि सहयोग गरेका थिए । तालिमको उद्घाटन सत्र पदमबहादुर रानाको अध्यक्षता र तिलक थापाको संचालनमा भएको थियो ।