रेष्टुरेन्टमा भाडा माझ्ने काम देखि अहिलेको ब्यबसायी यात्रा सम्म :- कुल आचार्य (भिडियो)


बेलायतका अहिलेका सफल ब्यबसायी कुल आचार्य नेपालीनेपाली डटकम “युरोप बर्ष व्यक्तित्व” घोषित भएका छन्। मिडियाले एक बिशेष समारोह बीच बार्सिलोनामा उक्त घोषणा गरेको हो। रेष्टुरेन्टमा भाडा माझ्ने कामबाट सुरु गरेका आचार्य हालका सफल ब्यबसायी बन्दा सम्मको प्रेरेणादायी जीवन कथा मिडियाले प्रस्तुत गरेको थियो। गैर आबासीय नेपाली संघ (एनआरएनए) मार्फत उनको सामाजिक सक्रियताको कदर गर्दै मिडियाले सम्मान गरेको हो। आचार्यको जीवनीलाई समेटेर तयार पारिएको एक बिशेष भिडियो सामग्री :-

स्क्रिप्ट/ आबाज/प्रस्तुति – बसन्त रानाभाट

सम्पादन :- लक्ष्मण शर्मा

भिडियो स्रोत :- नमस्ते युरोप

कुल आचार्यको जीवनी …

…….……

यी हुन् बेलायत निबासी अहिलेका सफल ब्यबसायी कुल आचार्य,उनको जीवनलाई नजिकबाट बुझ्नलाई एक पटक आँखाबाट आशु चुहाएर  पुग्न्दैन। उनको सघर्षलाई नजिकबाट नियाल्नको लागि एक पटक भाबबिहोल भएर पनि पुग्दैन। उनको जीवनलाई नजिकबाट बुझ्न धेरै पटक आँशु चुहाउनु पर्छ,अनि त्यति पनि पटक भाब बिहोल पनि।

बि.स, २०२९ साल जेष्ठ ३ गते, आमा नन्द कला उपाध्यय र पिता पण्डित ज्योतिष धर्मनाथ उपाध्ययको जेष्ठ सुपुत्रमा उनको जन्म भयो। पर्बत जिल्ला धाईरिङ्गका जन्मेका आचार्यले पिताको अनुरोधमा १२ बर्षको उमेरमा नै बिबाह गरे तर त्यसको २ बर्ष पनि नपुग्दै,श्रीमतीलाई गुमाए र कारुणिक पिडामा चुलुङ्ग डुबे।

दुख र बेदना,यत्ति मै सिमित रहेन। १० कक्षाको परीक्षा दिएर ,नतिजाको पर्खाइ गरेका आचार्यको जीबन झनै कारुणिक बन्दै गयो। बि.स, २०४५ सालमा पिता धर्मनाथ आचार्यलाई पनि उनले गुमाए।
……………. …

घरको जेठो छोरा,सानै उमेरमा बिबाह भयो,उनले पनि छाडेर गईन्,आचार्यले पितालाई भगवान् मान्थे,उनले पनि टुहुरो बनाएर गए। तर पनि आफैलाई सम्हाले। एसएलसी पछि महेन्द्र बहुमुखी क्याम्पन्समा प्रमाणपत्र तह अध्ययन गर्दै गरेका आचार्यको जीबन थप जटिल बन्दै गयो। पढाई तिर भन्दा पनि मास्टरी जागिरको खोजिमा रहेका आचार्यको जीवनमा आर्थिक संकटले च्याप्दै गयो।

घरमा मुदुस खोतले केहि पाएनन्,बिना पैसा, यसै हिडेका आचार्यले बाटोमा, नाताले सानिमा पर्ने आफन्तलाई भेटे। उनिसँग अनुरोध गर्दै रकम मागे, सानिमाले आँफूसँग भएको  २० रुपैयाँ  दिइन्,त्यही लिएर आचार्य यात्रामा निक्लिए। आउँदा जाँदाको मोटर भाडा १२ रुपैयाँ,३ रुपैयाँको बदाम किने,यसैले भेट भरिएको अनुभूति गर्दै ५ रुपैयाँ भने बचाएर घरमा नै ल्याए।

…….………… …

बिस २०५३ सालमा कसैलाई विदेश पठाउन काठमाडौ आएको मान्छे,तर यसै चक्करमा उनि पनि विदेशको यात्रामा हाम फाले। सन् १९९६ डिसेम्बरमा बेल्जियम आएका आचार्य जर्मनी लगायत,युरोपका अन्य  मुलुक हुँदै सन् १९९९ मा बेलायत पुगे। लण्डनको अल्बानि पार्कमा रहेको रची रेष्टुरेन्टमा, हप्तामा ८० पाउण्ड पाउँने गरी भाडा माझ्न सुरु गरे। रेष्टुरेन्टमा सेफ हुने उनको ठुलो ईच्छा थियो। २-३ महिना त्यही काम गरे पछि,उनि बम्बई बाईसाईकल क्लबमा पुगे। र त्यहाँ लगातार ६ बर्ष सम्म  फुल टाईम काम गरे।

भाडा माझ्ने काम बाट प्रबेश गरेका उनि,मिडिल म्यान,तन्दुरी,सेफ  हुँदै  हेड सेभ समेत बने। उनको ईच्छा शक्तिको कारण छोटो समयमा नै यो सफलता हासिल गरे। डिसेम्बर १ मा बेलायतको एक चर्चित पत्रिका ईभिनीङ् स्टाण्डरले प्रकाशित गरेको फिचर समाचारमा समेत आचार्य समेटीए। बेष्ट रोल अफ दि ईयर भन्दै सो पत्रिकामा पुन समाचार समेत प्रकाशित गर्यो । यसले बेलायतको नेपाली समुदायमा समेत,आचार्यलाई ठुलो परिचय दियो।

उनि रेष्टुरेन्टमा काम गर्दै गर्दा अन्य ३ वटा ठाउँहरुमा पार्ट टाईमको रुपमा काम पनि गर्थे। यसरी दुख गर्दा उनलाई आराम गर्ने न त रात नै थियो न त दिन नै।  सन् २००६ बाट आचार्यले आफ्नै ब्यबसाय सुरु गरे। आचार्यको  होलि काउ रेस्टुरेन्ट टेकवेयले ठुलो फड्को मार्यो। ब्यबसाय सुरु गरेको ४ बर्ष भित्रमा नै रेष्टुरेन्टका ७ बटा ब्रान्चहरु खोले।

आफ्नो मेहनत,कडा परिश्रम तथा धैर्यताका कारण , पेट भर्नका लागि कुनै दिन ३ रुपैयाँको बदामले चित्त बुझाएका तिनै आचार्य आज करोडपति बनेका छन्। बेलायतमा एक  सफल ब्यबसायी  बनेका छन्। १ सय ६० जना भन्दा बढीलाई रोजगारको अबसर पनि दिएका छन्।  रेष्टुरेन्ट ब्यबसाय अलवा प्रोपटी,हाईड्रो, हस्पिटाली तथा बैकिङ्ग क्षेत्रमा समेत लगानी गर्न  उनि सक्षम बनेका छन्।

……… …….  ……

आँफु स्कुल पढ्दा धेरै हण्डर र ठक्कर पाएर होला, उनको सहयोग  धेरै शिक्षा क्षेत्रमा नै छ। बि.स. २०१८ मा आफ्नो पिताले स्थापना गरेको कृष्ण भवन स्कुललाई उच्च माबि बनाउँन व्यक्तिगत रुपमा १० लाख रुपैयाँ सहयोग गरे। गाउँकै अभिभाबक र शिक्षकको राय बमोजिम बिद्यालयको नाममा उनका पिताको नाम पनि जोडियो। कृष्ण भबनमा उनका पिताको नाम धर्म पनि जोडिएर हाल कृष्ण भबन धर्म उच्च माबि बनेको छ। सोहि बिद्यालयमा उनकै पहलमा करिब ९ लाख रुपैयाँको लागतमा ई – लाईब्रेरी समेत बनेको छ।

यस्तै गाउँमा नै रहेको धर्मस्थल भूमेनाथ मन्दिरको सुरक्षार्थ पर्खाल निर्माण गरेका छन्। यति मात्र होईन उनले आँफु १३ बर्ष हुँदा संसार छाडेर गएकी श्रीमतीको सम्झनामा समेत परोपकारी काम गरेका छन्। मोना स्मृति पुरस्कार, फर्से धाईरिङ् माध्यमिक बिद्यालयमा मोना पौडेलको नाममा मोना स्मृति पुरस्कार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेका छन्।  बि.स, २०४९ सालमा म्याग्दीकि सिता सुबेदीसँग दोस्रो बिबाह गरेका आचार्यले, श्रीमती सीताकै आग्रहमा मोनाको सम्झना स्वरूप अक्षयकोष स्थापना गरेका हुन्।
व्यक्तिगत रुपमा उनले हासिल गरेको सफलता एउटा पाटो भए पनि,गैर आबासीय नेपाली संघको अभियानमा उनले मारेको फड्को पनि स्मरण योग्य रहेको छ। सन् २००३ देखि नै संघका गतिबिधिलाई,नजिकवाट बुझेका आचार्य सन् २००८ वाट गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेको सदस्यमा निर्बाचित भए। सन् २००९  मा कार्यसमिति उपाध्यक्ष हुँदै २०११-२०१३ मा एनआरएनए युकेको अध्यक्ष बन्न बने ।

२०१३- १०१५ आईसीसी सदस्य तथा गोब्लल च्यारिटी कार्यदलको सह अध्यक्षको रुपमा काम गरे भने हाल एनआरएन युरोप क्षेत्रको संयोजकको रुपमा जिम्मेबारी सम्हालेका छन्। यस्तै गैर आबासीय नेपाली संघको व्यपार तथा लगानी प्रबद्वन समितिको अध्यक्षमा छन्। जुन संघको मुख्य कार्यदल मानिन्छ।

एनआरएन युकेको अध्यक्ष हुँदा उनले साना ठुला  गरी ६२ बटा च्यारिटी कार्यक्रमहरु गरेका छन्।नेपाल पत्रकार महासंघ युके शाखासंगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान, सबैमा आचार्यको नेतृत्वदायी भूमिका रह्यो।

यसैगरी नेपालबाट ओलम्पिक धावक भूपेन्द्र सिलवाललाई लण्डन ओलम्पिक २०१२ का अवसरमा बेलायत ल्याउन उनैले पहल गरे। नेपालको पहिलो धावक सिलवाल सन् १९६५ मा खालि खुट्टा जापानको ओलम्पिकमा दौडिएका थिए। उनलाई बोलाएर आचार्यले नेतृत्व सम्हालेको गैर आबासीय नेपाली संघले त्यतिबेला ४ लाख रुपैयाँ सहयोग समेत प्रदान गरेको थियो।

यसले खेलाडीलाई सम्मान दिनुपर्छ भन्ने सन्देश देश विदेशमा रहेका नेपालीहरुमाँझ मात्र नभई नेपाल सरकार समक्ष सकारात्मक सन्देश पुग्न सफल भयो। उनकै संयोजनमा काठमाडौं त्रिभूवन विमानस्थलमा ४० वटा ट्रली सहयोग उपलब्ध भएको थियो। यस्तै  बाग्मती नदी किनारमा एनआरएनएको पहलमा बनाइन लागेको शंखमूल पार्क निर्माणका लागि  आचार्यले संयोजन गर्दै १ करोड ४२ लाख रुपैयाँ प्रतिबद्दता रकम संकलन भएको थियो। जुन बार्सिलोनामा सन् २०१४ मा सम्पन्न युरोपेली बैठकबाट रकम जुटेको हो।
अत: जीवन एउटा संघर्षको मैदान हो, धेरै उताढ़चढावहरु देखा पर्छन्। यी सबै सँग जुधेर संघर्षको मैदानमा उत्रन सके जीवनमा सफल बन्न सकिन्छ भन्ने पाठ उनिबाट सिक्न सकिन्छ। युरोपमा हामी थुप्रै नेपालीहरु यसरी नै संघर्ष गरिरेका छौ,यतिबेला आचार्यको जीवन सबैको लागि खुल्ला किताब बन्न सक्छ। अत सबै नेपालीहरुको खबर नेपालीनेपाली डटकम आफ्नो दोस्रो बार्षिकोत्सव समारोहमा,बेलायत निबासी कुल आचार्यलाई “युरोप बर्ष व्यक्तित्व सम्मान – २०१६ बाट, सम्मानित गर्दछ।

तपाईको प्रतिक्रिया