आज युरो कप फाईनल, फ्रान्स र पोर्चुगल ईतिहास रच्ने होडबाजीमा


पेरिस/ आयोजक फ्रान्स र युरो २०१६ मा उसको अद्वितीय उपलब्धिबीच एउटै टिम रहेको छ, क्रिस्टियानो रोनाल्डोको संघर्षपूर्ण पोर्चुगल । आइतबारको फाइनल रहेको छ, स्टाडे डे फ्रान्समा । गतवर्ष मात्र फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल चलिरहँदा पूरा पेरिस आतंककारी आक्रमणको सिकार बनेको थियो । त्यसमा १ सय ३० भन्दा बढीले ज्यान गुमाएका थिए । यसले प्रतियोगिताको आयोजनामै शंका उत्पन्न गराएको थियो ।
तर अहिले त्यही जर्मनीमाथि सेमिफाइनलमा प्राप्त जितपछि फ्रान्स फाइनल पुगेको छ र यसक्रममा आफ्नो घरेलु मैदानमा भएका तीन ठूला प्रतियोगिताको उपाधि जित्ने अद्वितीय उपलब्धिको संघारमा पुगेको छ । फ्रान्स सन् १९८४ मा युरोपेली च्याम्पियनसिप र सन् १९९८ विश्वकप आफ्नै भूमिमा हुँदा टिम उपाधि चुम्न सफल रहेको थियो । ‘अहिले फ्रान्समा निकै खुसी छ । अहिले सबै फ्रान्सेली प्रसन्न छन्,’ फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले दाबी गरेका छन् ।
उनी भन्छन्, ‘अहिले निकै राम्रो कथाको पटकथा तयार भइरहेको छ । हामीले भनिरहेका छैनौं, फ्रान्सेली जनताले सामना गरिरहेका सबै खाले समस्याको समाधान हामीसँग छ । तर हामीसँग त्यो शक्ति भने छ, जसले फ्रान्सेली जनतालाई खुसी तुल्याउनेछ । हाम्रो फुटबलले गर्दा उनीहरू भावनात्मक हुन सक्छन् र आफ्ना सबै समस्या बिर्सन चाहन्छन् ।’ नोभेम्बरमा इस्लामिक स्टेटले गरेको आक्रमणको भयावहको एक साक्षी हुन्, फ्रान्सेली टिमका फरवार्ड एन्टोनी ग्रिजम्यान ।रंगशालामा बम फिस्फोट हुँदा ग्रिजम्यान मैदानमा थिए । उनकी ठूली दिदी मउड भने बेथाक्लन कन्सर्स हलमा । त्यहाँ भएको अर्को आतंककारी आक्रमणमा परेर ८९ को मृत्यु भएको थियो ।
तिनै ग्रिजम्यान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडविरुद्ध एट्लेटिको म्याड्रिडका लागि टाइब्रेकरमा पेनाल्टीबाट गोल गर्न चुकेका थिए । ग्रिजम्यानले प्रतियोगितामा सुस्त सुरुआत लिए । तर अल्बानियाविरुद्ध ९० औं मिनेटमा गोल गरेयता उनी फेरिएका खेलाडी बने ।अहिले उनी प्रतियोगितामा उदय भएका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन् । नकआउट चरणमा फ्रान्सले उत्तरी आयरल्यान्ड, आइसल्यान्ड र जर्मनीलाई हराउँदा उनी सबैविरुद्ध गोल गर्न सफल रहे । उनले अहिलेसम्म ६ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा अगाडि छन् र धेरै सम्भावना छ, यी २५ वर्षीय खेलाडी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र गोल्डेन बुट अवार्डका सबैभन्दा राम्रा प्रत्यासी पनि बनेका छन् ।
तर रोनाल्डोले ठीक मौकामा सम्झाएका छन्, उनी कत्तिका निर्णायक खेलाडी हुन सक्छन् भनेर । उनकै सुरुआती हेड गोल मदतले पोर्चुगलले वेल्सलाई २–० ले हराएको थियो । अहिले ३१ वर्ष छोएका रियल म्याड्रिडका स्टारसामु अहिले पोर्चुगलका लागि सबैभन्दा ठूलो उपाधि जित्ने राम्रो अवसर छ । उनले यस्तो अवसर यसपछि विरलै पाउनेछन् ।
रोनाल्डोले अहिलेसम्म फ्रान्सविरुद्ध कुनै पनि स्तरमा जित चाखेका छैनन् ।तर यसमा उनको मात्र दोष छैन, पोर्चुगलले सन् १९७५ यता फ्रान्सविरुद्ध दस खेलमा हार बेहोरेको छ । हारको क्रम निकै पुरानो छ । फ्रान्सले ठूला अवसरमा दुईपल्ट पोर्चुगललाई हराइसकेको छ, सन् १९८४ र २००० को प्रतियोगितामा । त्यस अवसरमा एकपल्ट मिचेल प्लाटिनी नायक थिए, अर्कोपल्ट जिनेदिन जिदान । त्यसपछि फ्रान्सले उपाधि पनि जित्यो । सन् २००६ को विश्वकपको सेमिफाइनलमा पनि फ्रान्सले पोर्चुगललाई हराएको थियो ।-  एएफपी,