सुरक्षित आवास निर्माणमा ध्यान दिन कार्यकारी प्रमुखको आग्रह


पोखरा । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले सुरक्षित आवाज निर्माणका लागि सरोकारवाला निकाय सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

पोखरा क्षेत्रभित्र कार्यरत निर्माण व्यवसायीका लागि पोखरा उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने भवन निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुक्रबार उद्घाटनका अवसरमा बोेल्दै कुँवरले सुरक्षित आवासका लागि निर्माण व्यवसायी सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने बताए ।

news photo

गत वर्ष वैशाख १२ गतेको भूकम्पले सुरक्षित आवास आवश्यक छ भन्ने पाठ सबैलाई सिकाएको कुँवरले बताए । ‘जीवन रक्षा र भौतिक सम्पत्तीको संरक्षणको विषयमा भूकम्पले धेरै पाठ सिकाएको छ,’ उनले भने, ‘भूकम्प प्रतिरोधी घर तथा भवन निर्माण गर्नुपर्ने सरकारको नीति सबैले कार्यान्वयन गरौं ।’

शहरी विकास सम्वन्धी अवधारण तथा नीतिहरु कार्यान्वयन गरी सुरक्षित आवास निर्माण गर्न सकिने उनले बताए । नयाँ बनाइएका घरहरु सुरक्षित तथा भूकम्प प्रतिरोधी बनाउन सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको कुँवरले जानकारी दिए । काम गर्दा पर्ने समस्यालाई निराकरण गर्न तालिम सफल हुने बताउँदै कुँवरले नबुझेका कुरा ईन्जिनियरहरुसँग सोधेर आफ्नो सिप र क्षमतालाई निखार्न व्यवसायीलाई आग्रह गरे ।

निर्माण व्यवसायीको काममा पोखरा उपमहानगरपालिकाको जिम्मेवारी र दायित्व जोडिएको बताउँदै कुँवरले शंका उत्पन्न हुने खालका काम नगर्न व्यवसायीलाई आग्रह गरेका छन् । ‘सेवाग्राहीबाट नकारात्मक गुनासो आउने काम नगर्नुहोला,’ उनले भने, ‘आफ्नो सिप, क्षमता, दक्षता तथा व्यावसायिकता झल्कने गरी काम गर्नुहोस्,’

सरकारबाट प्राप्त भएका निर्देशन तथा नीति नियम र प्रविधिहरुकोे बारेमा व्यवसायीलाई जानकारी दिन तालिम आयोजना गरिएको पोखरा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सारदामोहन काफ्लेले बताए । ‘मापदण्ड कार्यान्वयनमा व्यवसायीको भूमिका महत्वपूर्ण रहन्छ,’ उनले भने, ‘सरकारले लागु गरेको मापदण्ड कार्यान्वयनमा सबैको साथ आवश्यक छ ।’

नगरपालिकाका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा इन्जिनियर सुरेन्द्र पौडेल, श्रम निर्माण व्यवसायी समितिका अध्यक्ष गुञ्जलाल श्रेष्ठ, स्वरोजगार निर्माण व्यवसायी समितिका उपाध्यक्ष दलबहादुर राई, सब इन्जिनियर नेत्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए । तालिमको सहजीकरण इन्जिनियर सुरेन्द्र पौडेल र सवइन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले गरेका छन् ।

तालिममा श्रम निर्माण व्यवसायी समिति र स्वरोजगार निर्माण व्यवसायी समितिमा आवद्ध करिब ३ सय जना निर्माण व्यवसायी सहभागी छन् । पोखरा उपमहानगरपालिकाले गत माघमा पोखरा निर्माण व्यवसायी समितिसँग आवद्ध करिब ४ सय ५० जना निर्माण व्यवसायीलाई ३ दिने तालिम दिएको थियो ।