टिबीदाबुमा हुने नेपाल प्रवद्वन कार्यक्रमको सम्पूर्ण तयारी पुरा


बार्सिलोना / बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा हुने नेपाल प्रवद्वन बिशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।  “भिजिट नेपाल,रिबुल्ड नेपाल ,वुई निड नाउ मोर देन ईभर” भन्दै शनिबार र आईतबार हुने  नेपाल महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो।

बार्सिलोना स्थित नेपाली कन्सुलर,एनआरएनए लगायत स्पेन स्थित संघ संस्थाहरुको बिशेष पहलमा कार्यक्रम हुन लागेको हो। प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी बन्न  फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेल शनिबार बार्सिलोना आईपुगेकी छन्। एनआरएनए स्पेनका पदाधिकारीहरुले राजदूत लुईटेललाई विमानस्थलमा स्वागत गरेका थिए।

कार्यक्रमको बिशेष आकर्षणको रुपमा रहेको बेलायतको नौमती बाजा यसपटक टिबीदाबु डाँडामा घन्कने भएको छ। नौमती बाजा सहित,बिभिन्न संघ संस्थाहरुको झाँकी,नेपाली कला र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमको रहेको एनआरएन स्पेनले जनाएको छ।viber imageनेपाल झल्कने गरी तयार गरिएका टिसर्टहरु लगाएर नेपालीहरु कार्यक्रममा सहभागी बन्ने भएका छन्।  एनआरएन स्पेन,बुद्द फेलिज,नेपाल,नेपाल तिएर्रा दे पाथ र सुरेश भण्डारीका पेन्टीङ्हरु कार्यक्रममा स्टल बनाएर राखिने भएका छन्। नेपाली हस्तकलाका सामग्रीहरु,नेपाली पहिचान झल्कने पोशाकहरु,खादा,नेपाली झण्डाहरुले स्टल सजिने भएका छन्। ईन्टरनेशनल दोना भिदा,लाङ्टाङ् डिजास्टर, नेपाल केयर,अमिक्स डेल नेपाल र भिडा उटेल जस्ता संस्थाहरुले पनि स्टल राख्ने भएका छन्। बर्षौ देखि यी संस्थाहरुले नेपालको हितमा काम गर्दै आएका हुन्।

निशुल्क बसको ब्यबस्था :-

कार्यक्रममा सहभागीहरुको लागि प्लासा कातोलोनियाबाट (एप्पल स्टोर अगाडी)  निशुल्क बसको ब्यबस्था रहेको संघका सल्लाहकार दावा ऋषि श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे  (१ सय ३० जना),

दिउँसो ३ बजे (६५ जना) र  दिउँसो ४. ३० बजे (६५ जना) को लागि बसको ब्यबस्था रहेको छ।

यस्तै कार्यक्रम स्थलबाट फर्कनको लागि राति ८ बजे बाट निशुल्क बसको ब्यबस्था रहेको छ। श्रेष्ठले भने,” घर फर्कने ठुलो गुप्र  तयार भए पछि हामीले सम्पर्क गरेर बस बोलाउँनु पर्छ।” डाडामा रहेको पार्कमा खेल्न र मनोरन्जनको लागि ५० बालबालिकाहरुको लागि निशुल्क: टिकटहरु उपलब्ध भएको पनि श्रेष्ठले जानकारी दिए।