धुर्मुस-सुन्तलीलाई भद्रगोलका कक्रोज,बलेको पनि ३ लाख सहयोग


धुर्मुस-सुन्तलीलाई बले र कक्रोजले दिए बेलायतमा उठेको तीन लाख
गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका धुर्मुस-सुन्तलीलाई हास्य टेलिशृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले आर्थिक सहयोग प्रदान गरेका छन्।

बेलायतको विभिन्न ठाउँमा भएका कार्यक्रमबाट संकलित ३ लाख १८ हजार ८ सय ४४ रुपैयाँ उनीहरुले धुर्मुस-सुन्तलीलाई प्रदान गरे। सपन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शकसामु सहयोगको अपील गरी सहयोग जुटाइएको उनीहरुले बताएका छन्।

अल्डरसटमा भएको कार्यक्रममा ६ सय ५० पाउन्ड, निरमाया दोहोरी साँझबाट ५४ पाउन्ड, फोल्क स्टोनबाट ५४पाउन्ड, ह्यारोबाट १ सय ५ पाउन्ड, ह्यारो बोनटोकबाट कमला र खमिरजंग गुरुङ्गले ६ सय ५ पाउन्ड र पल्मस्टिडबाट १ सय ५०पाउन्ड गरी जम्मा २ हजार १८ पाउन्ड सहयोग संकलन भएको थियो।

१८ दिनका लागि शुक्रबार अस्ट्रेलिया जाने तयारीमा रहेका कलाकारहरु जिग्री, पाँडे, बले र कक्रोजले त्यहाँ हुने कार्यक्रमबाट पनि गिरानचौर एकीकृत बस्ती निर्माणका लागि सहयोग संकलन गर्ने प्रतिबद्धता जनाएका छन्। सिन्धुपाल्चोकको मेलम्ची-८ मा पर्ने गिरानचौर बस्ती भूकम्पले ध्वस्त बनाएपछि धुर्मुस-सुन्तलीको टिम नयाँ बस्ती निर्माणमा जुटिरहेको छ।