स्पेनिस टोलीले मुस्ताङमा हावाबाट बिजुली निकाल्दै


मुस्ताङ– प्रधानमन्त्री केपी ओलीको ‘हावाबाट बिजुली निकाल्ने’ भाषण अझै पनि कतिलाई अपत्यारिलो लागेको होला । तर, यहाँ एउटा विदेशी टोली दुई सातादेखि त्यही काममा जुटेको छ । अबको एक महिनाभित्र जोमसोममा हावाबाट निकालिएको बिजुली बल्ने टोलीको दाबी छ ।

स्पेनिस लगानीकर्ता राफेल भेनस पिच, इन्जिनियरहरू कासिमीरो भर्दागेर, मार्को फोज भर्दागेर र स्पेनमा बसोबास गर्दै आएका पुष्पराज तिमिल्सिना मिलेर हावाबाट बिजुली निकाल्ने योजनामा काम गरिरहेका हुन् । योजनामा मुख्य लगानी राफेल र तिमिल्सिनाको रहेको छ । दुवै मिलेर बुद्ध पावर प्रालि खोलेका छन् । यो प्रालिका राफेल अध्यक्ष हुन् भने तिमिल्सिना निर्देशक हुन् । टोलीले जोमसोममै हावाबाट ३ हजार मेगा वाटको बिजुली निकाल्न अध्यययन गरिहेको छ ।

हावाबाट निस्कने बिजुलीबाट संचालन गरिने अत्याधुनिक मौसममापन यन्त्रलाई यो टोलीले नेपालमा पहिलोपटक प्रयोग गर्दैछ । उर्जा क्षेत्रमा आºनो उर्जाशील उमेर बिताएका ७५ वर्षीय इन्जिनियर कासिमीरोलाई मुस्ताङमा छोरा मार्को फोजले साथ दिएका छन् । यो टोलीका चारैजना मिलेर जिल्ला प्रहरी कार्यालयको परिसरमा प्रविधि जडान गरिरहेका छन् ।

‘सुरक्षाका दृष्टिकोणले प्रहरी कार्यालय परिसरमा राखेका हौं,’ एनआरएनएका पूर्वकेन्द्रीय सल्लाहकार समेत रहेका तिमिल्सिनाले भने, ‘यो नेपालमा पहिलो प्रयोग हो । असारभित्र बिजुली बलिसक्छ ।’ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा यो प्रविधि भित्र्याइएको हो ।

‘यसमा अत्याधुनिक पंखा जडान गरिएको हुन्छ । सानो आकारको पंखाबाट बिजुली निकाल्ने हाम्रा लागि पनि नयाँ प्रयोग हो,’ उनले भने, ‘यो पंखाबाट निस्केको बिजुली ब्याट्रीमा जोडिन्छ । यसबाट तार जडान गरेर विद्युत् वितरण हुन्छ ।’ हावा जुन दिशाबाट आएपनि पंखा घुमिरहने यसको मुख्य बिषेशता भएको उनले बताए ।

13445273_10154229545992973_3350369943253122631_nयोसँगै आठवटा सोलार प्यानल जडान गरिएको छ । त्यसबाट निस्किएको बिजुली पनि ब्याट्रीमा संचित हुन्छ । हावाबाट बिजुली मात्र नभइ मौसममापन यन्त्र पनि टोलीले पहिलोपटक भित्र्याइएको जनाएको छ । ‘यो मेशिन नेपालमै थिएन, यसलाई जडान गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने

तयारी गर्दैछौं,’तिमिल्सिनाले भने, ‘यो मेसिनले समय, मिति, हावाको गति, दिशा, हावामा पानीको मात्रा, तापक्रम, सूर्यको किरण मापन, मौसमको सापेक्षित आद्रता देखाउँछ ।’ यहाँबाट देखाएको तथ्यांक सबै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय कार्यालयको कम्प्युटरमा देखिनेछ ।

बिजुली निकाल्न प्रयोग भएका सबै सामान स्पेनबाटै झिकाइएको हो । यो परीक्षणमै भएकाले हाललाई १ दशमलव ५ किलोवाट मात्र बिजुली दिने टोलीले जनाएको छ । हावाको गतिमा निर्भर हुने भएकाले कति क्षमता विद्युत् उत्पादन हुन्छ यसै भन्न नसकिने राफेल बताउँछन् । ‘यो घरघरमा राख्न सकिने प्रविधि हो । दुइ/तीन घर मिलेर पनि राख्न सकिन्छ,’ उनले भने, ‘जडान गर्दा केही खर्चिलो भए पनि यसको टिकाउ २० वर्ष हुने भएकोले महँगो पर्दैन ।’

टोलीले परीक्षणको कामसँगै ३ हजार मेगावाटसम्मको हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भावनाको अध्ययन गरिरहेको छ । ‘हाम्रो टोलीले जोमसोममै ३ हजार मेगावाट विद्युत् उत्पादन गर्न अध्ययन थालिसकेको छ,’ उनले भने, ‘यो सबै लगानी हाम्रो आफ्नै हो ।’ नाकाबन्दीका कारण सामान कोलकातामा १० महिना रोकियो भन्दै ईकान्तिपुरले समाचार प्रकाशित गरेको छ।