सोध्नुहोस् :- तपाईले भूकम्प पिडितलाई सहयोग गरेको रकम कहाँ छ ?


बसन्त रानाभाट,बार्सिलोना

गत बर्ष देशमा बिनाशकारी भूकम्प गए पछि प्रबासमा सहयोग रकम उठाउँने लहर नै चल्यो। कतिपयले उठाएको  सहयोग रकमबाट तत्काल राहत बितरण गरे, कतिपयले संकलन गरेको रकम अझै बैङ्कमा जम्मा भएर बसेको छ। कतिपयले त कति उठाए कति बाँडे केहि हिसावकिताब नै छैन।

तर पिडितको अबस्था हिजो जस्तो आज पनि उस्तै,दिन प्रतिदिन अझै दुखदायी क्षणहरु बिताईरहेका छन्। भूकम्प जाँदै गर्दा एउटा सरकार थियो,बिचैमा फेरि नयाँ फेरियो, कुर्सीमा अनुहारहरु फेरिए तर पिडितको अबस्था फेरिन सकेन।

भूकम्प गए पछि विदेशमा सहयोग रकम उठाउँन नेपालीहरु कस्सिए। दुताबास,एनआरएन,संघ सँस्थाहरु लगायत व्यक्तिगत रुपमा पनि रकम उठाउँने काम चलिरह्यो। धेरैको भावाना मिसिएको अबस्था भएर होला रकम जसले संकलन गरे पनि राम्रै सँग उठ्थ्यो। बिदेशीहरुको मन र शान्त्वना भरिएको बेला भएर होला छिनभरमा लाखौ रकम संकलन गर्न त्यति गाह्रो थिएन।

रकम संकलन पछि नेपालमा सहयोग नै पुगेन,पिडितले राहत नै पाएनन् ,रकम उठाएर खाए वा हिनामिना गरे भनेर तथ्यहिन आरोप वा लान्छना लगाउँन यतिबेला सान्दर्भिक ठानिन तर कसले कति सम्म ईमान्दारिता निभाए,वा सच्चा मनले आफ्नो जिम्मेबारीलाई कति सम्म बहन गर्न सके भन्ने बारे आत्म समिक्षा गराउँन भने मन लागेको छ।

“छातिमा हात राख्नुहोस् र आँफैले आँफैलाई सोध्नुहोस् , तपाईले उठाएको रकम खै ? वा तपाईले सहयोग गरेको रकम खै ? सहयोग गरेको रकम खर्च भईसकेको छ वा अहिले पनि यत्तिकै छ। तपाईले दिएको रकम कहाँ पुग्यो ? ,एक पटक उत्तर खोजौ त……।

….  राहतमा सक्कियो ? …. स्कुल बन्यो वा घरहरु बने ? …. हैन अझै बैंकमा नै छ ? … यो त  अझै संस्थाको नाममा विदेशमा नै छ क्यारे ? … ब्याजमा नै चलेको छ,कसैले खाने हैन क्यारे संस्थाको कोष बढ्दै जाने त हो,यहिँ रहोस् काम सुरु भए पछि पठाउँला… बिस्तारै पुनर्निमाण काम होला अनि  दिउँला नि त। ….  यसै बैङ्कमा रहन भन्दा अहिले ब्यबसायमा हाल्छु,नेपालमा काम सुरु भए पछि दिउँला मैले खाने हैन क्यारे !…   राहतमा यति खर्च भयो,बाँकी स्कुल बनाउँदा सक्कियो। …. सरकारको राहत कोषमा पठाएको हो,त्यस पछि खै के भो थाहा छैन। ….…. रकम त एनआरएन मार्फत दिएको हो,घर बनाउँने कुरा छ बनाउँला नि। …. मैले त फलानो(कसैलाई) दिएको हो,त्यस पछि के गर्यो थाहा छैन,गाउँ तिर सहयोग पठायो कि…. नेपालमा नै अभियान चलाएका थिए उठेको सहयोग उतै पठाईयो,राहत बाँडे होलान् नि फेसबुकमा फोटोहरु  हालेका थिए क्यारे। …

- बसन्त रानाभाट

– बसन्त रानाभाट

सम्भवत:  तपाईको उत्तर यही कतै छ कि ? यो पनि स्मरण गराउँ, जति बेला रकम संकलन भएको थियो,आँफूले गरेको सहयोग अहिले नै पुगोस्। पिडितले राहत पाउन्। भत्केका घरहरु बनुन् ,पाल वाट पिडितहरु घरमा बसाई सर्न सकुन् यस्तै भाबाना मिस्सिएको थियो।

तर कतिपय अभियन्ताहरुसँग आफ्नै उत्तर छ। जसको कामवाट सबैलाई प्रेरेणा मिल्न सक्छ। भलै थोरै रकम नै किन नहोस् सबैको मन छुने गरी आफ्नो तर्फबाट प्रयास गरेका छन्। जस -जसले उक्त अभियानमा सहयोग गरेका थिए,प्रत्येकलाई चित्त बुझ्दो जबाफ मिल्न सक्ने काम गरेका छन्।

यसैबीचको एउटा उदाहरण प्रस्तुत गर्न मन लाग्यो। स्पेनको कोस्टाब्लान्का क्षेत्रमा रहेको मोराईरा तथा आल्तियामा(दुई ठाउँमा)  रहेको हिमालय तन्दुरी रेष्टुरेन्टले च्यारिटी डिनर आयोजना गर्दै राहत रकम संकलन गर्यो। रेष्टुरेन्टले दुई ठाउँहरुमा गरेको च्यारिटीबाट ९ हजार ३  सय ४० युरो ८० सेन्ट  संकलन गर्न सफल भयो।

च्यारिटी कार्यक्रममा ८० प्रतिशत भन्दा बढी बेलायतीहरुको सहभागिता थियो। स्पेन,नर्भे,बेल्जीयमका नागरिकहरुले पनि च्यारिटीमा सहभागिता जनाए र अभियानलाई सहयोग गरेका थिए। रेष्टुरेन्टका संचालकहरु बागलुङ्का केशरबहादुर थापा,अन्जु पुन तथा आइरिस नागरिक ब्रायान र निना दोहर्तीले खर्च पनि नकटाई नेपालका भूकम्प पीडितहरुलाई रकम संकलन गरे। प्रबासमा कलम चलाउँने हामीहरु पनि त्यति बेला निकै ब्यस्त थियौ। लेख्न भ्याई नभ्याई,फलानो ले यति उठायो,अर्कोले यति पठायो। चामल र चाउचाउ बाँडेका फोटोहरु,अपलोड गर्न हामीलाई भ्याईनभ्याई थियो।

यसै क्रममा करिब एक बर्ष अघि यिनै रेष्टुरेन्टका संचालक मध्येका एक केशर बहादुर थापालाई मैले सोधेको थिए। बिदेशीलाई खाना खुवाएर रकम त जुटाउँनु भयो, अब के गर्नु हुन्छ ? उनले भनेका थिए “संकलन भएको रकम के गर्ने बारे हामीले सोची रहेका छौ,सके सम्म पीडितको बस्तीमा पुगेर केहिँ त गर्छौ नै।

आज (बुधबार) सोहि रेष्टुरेन्ट संचालक मध्येकि एक अन्जु पुनसँग कुराकानी भयो। उनले सविस्तार बताईन्। “भूकम्प पिडितका लागि रकम संकलन भए पछि अब के गर्ने भनेर हामीले धेरै सोच्यौ। गाउँ नै परिबर्तन गर्ने हामी सँग स्रोत साधन र रकम पनि थिएँन। राहत बितरण काम लगभग सक्किएको थियो। त्यसैले भूकम्प गएको २ महिना पछि म आँफै नेपाल पुगे।

अञ्जु भन्छिन्,” हामीसँग जम्मा भएको १०-१२ लाख रुपैयाँले के गर्ने भन्ने बारे ठुलो चिन्ता भयो। आँफैले खाना खुबाएर त्यसको खर्च पनि नकटाई बचाएको रकमको धेरै नै माया थियो। अझ हामी मार्फत जसले सहयोग गरेका छन् उनिहरुको भावानालाई साञ्चिकै सहयोगमा बदल्ने हाम्रो संकल्प थियो। सामान्य रेष्टुरेन्टमा जम्मा भएको रकम, ठुलो योजना लिएर,तडकभडक गरेर गाउँलेलाई ठुलो आश्वासन देखाउँनु त थिएँन तर भावानात्मक सहयोग गर्दै मन जोड्ने धोको भने थियो नै। त्यसैले भत्केको कुनै स्कुल बनाउँने सोच बनायौ।

गोरखा जाँदा धेरै ठाउँहरुको अनुगमन गरियो।  कतिपय ठाउँमा स्थानीयहरुको भनाईले पनि चित्त दुख्यो। तपाइँहरु आँफै बनाई दिनुहुन्छ भने त ठिकै छ, तर जनश्रमदान गर्न भने सक्तैनौ यसो पनि भने। तर जनश्रमदान सहितको कुनै भत्केको स्कुल बनाउँने हाम्रो मनसाय थियो।” उनले बताईन्।

बिद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी बन्दै अञ्जु पुन
बिद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी बन्दै अञ्जु पुन

अन्तत: अञ्जुले आफ्नो चाहाना अनुरुप कै स्कुल बनाउँने आधार पाईछन्।  गोर्खा जिल्ला मनकामना गाबिस – २  बेतेनी मा भूकम्पले ध्वस्त भएको श्री चण्डी देउराली प्राथमिक बिद्यालयलाई बनाउँने निर्णय गरिन्। त्यहाँका स्थानीयहरु पनि जनश्रमदान गर्न तयार भए। रेष्टुरेन्टले खाना बेचेर जोगाएको रकम १२ लाख रुपैयाँ र श्रमदान सहित १५ लाखमा हाल ४ कोठे स्कुल भवन निर्माण सम्पन्न भएको छ।

त्यतिबेला गाउँमा स्कुल बनाउँने निर्णय सहित ५ लाख रुपैयाँ बुझाएर अञ्जु स्पेन नै फर्केकी थिईन्। बेलाबेलामा सम्पर्क भईरहन्थ्यो ,कामका आधारमा बाँकी रकम पनि दिदै गरिन् ,आखिर स्कुल बनी छोड्यो। स्कुल बने पछि अबलोकन गर्न र हस्तान्तरण कार्यक्रमका लागि फेरि नेपाल फर्किन्। स्कुल कै कामको लागि एक बर्ष दुई पटक सम्म नेपाल पुगेर अन्तत: मे १६ तारिख बिद्यालय हस्तान्तरण गरिन्।

अञ्जुले गाउँको दृश्यलाई सम्झदै  बर्णन गरिन्,” गाउँमा खाने पानिको ठुलो समस्या छ,हामीले गर्न नै के सक्छौ र ? तर धेरै टाढाबाट पानि ल्याउनु पर्ने बाध्यता छ। हामीले स्कुल त बनायौ तर पठनपाठन सबै कुरा ब्यबस्थित गर्न धेरै कुराको जरुरी हुन्छ। राम्रो बस्ने ठाउँ होस् ,कम्प्युटर,लाईब्रेरी होस् ,आबश्यक शिक्षक लगायत शैक्षिक बाताबरण होस्। हामीले स्कुल भबन बनायौ,सबै ठिक भयो भनेर भन्दैनौ धेरै कुराको कमी छ।

चण्डी देउराली प्राथमिक बिद्यालयका बिद्यार्थीहरु
चण्डी देउराली प्राथमिक बिद्यालयका बिद्यार्थीहरु

सबै कुराको ब्यबस्थित गर्ने हैसियत त सरकारसँग बाहेक अरु को सँग नै छ र ? तर कम्तिमा भूकम्प पिडितको लागि उठेको रकम उचित  ठाउँमा लगेर खर्च गरेका छौ,त्यो हाम्रो जिम्मेबारी पनि थियो अहिले कम्तीमा सन्तुष्टि भने मिलेको छ। कसैले मैले सहयोग गरेको रकम खोई भन्यो भने,पुरा बिबरण सहित जबाफ दिने हैसियत हामी सँग छ।” उनले भनिन्।

रेष्टुरेन्टको सहयोग अभियानमा बिशेष रुपमा आर्थिक सहयोग गर्ने स्पेनिस नागरिक द्वय जोसे र बेलेन पनि अञ्जु सँगै गोरखा पुगेका रहेछन्।  उनीहरुले त्यहाँ रहेका ३१ जना बिद्यार्थीहरुलाई स्टेसनरी सामान पनि वितरण गरेछन्। आँफूले गरेको सहयोग सही ठाउँमा पुगेको पनि उनिहरु खुसी र सन्तुष्ट पनि छन्। कार्यक्रममा महिला गल्फ टिम आल्टिया स्पेनले  विद्यार्थीहरुलाई स्कुल ड्रेस र खेलकुद सामाग्रीहरु पनि वितरण गर्यो।

यसैबीच यस अघि नै रेष्टुरेन्टले सहयोग रकमबाट नै पर्वतको शालिजा माध्यमिक बिद्यालयमा अध्ययनरत ९ जना दृष्टिबिहीन बिद्यार्थीहरुका लागि ३ वटा कम्प्युटर सेट, स्कुल झोला पनि बितरण गरेको थियो।  ति बिद्यार्थीहरुको लागि आइरिस नागरिक लेडी लिन्डाले बिस्ताराको सेट समेत सहयोग पनि गरेकी थिईन्।

अञ्जुसँग बार्तालाप सकिए पछि अर्का संचालक केशर बहादुर थापा सँग मैले कुराकानी गरे। एक बर्ष अघि आँफूहरुले संकलन गरेको रकम उचित ठाउँमा लगेर खर्च गर्ने प्रतिबद्दता पुरा भएकोमा उनी निकै खुशी थिए। आफ्नो रेष्टुरेन्टमा हुने गफहरु पनि उनले सुनाए,” केहि समय अघि आयरल्याण्डको टेलिभिजनमा नेपाल बारे ठुलो बहस भएछ नि,यहाँ ग्राहकहरुले कुरा गर्दै थिए। त्यति ठुलो सहयोग पुगेर पनि काम भएँन रे बहस को बिषय यस्तै रहेछ। हाईटीको बारेमा पनि यहाँ एक दिन छलफल भएको थियो। हाईटीलाई सहयोग जाँदैन भन्छन् नि ! बिलियन सहयोग पुगेर पनि, काम केहिँ भएनछ ,त्यसैले हामी बेलैमा सचेत हुन जरुरी छ।” उनले थपे।

दृष्टिबिहीन बिद्यार्थीहरुका सुत्ने बिस्ताराको सेट प्रदान गर्दै
दृष्टिबिहीन बिद्यार्थीहरुका सुत्ने बिस्ताराको सेट प्रदान गर्दै

यी दुवै जनाको सँगको कुराकानी पछि मलाई केहिँ लेख्न मन लागेको हो। एउटा रेष्टुरेन्ट जसले आँफैले खाना बेचेर खर्च पनि नकटाई ,जोगाएको रकमबाट, आफै खर्चमा दुई दुई पटक नेपाल पुगेर, सहयोगीको भावानालाई कदर गर्दै केहि गर्न सम्भव छ,भने भूकम्प पिडितको नाममा करौडौ उठेको रकम अझै किन सदुपयोग हुन सकीरहेको छैन। कहाँ गयो संघ संस्थाहरुले प्रबासबाट उठाएको करौडौ रकम ? अझै बैंकमा नै छ ? वा  प्रबासमा नै ? तपाईले गरेको सहयोग रकम के भयो भनेर सोध्ने अधिकार तपाईलाई छ कि छैन ?

काम गर्नलाई कसैले पनि रोक्ने रहेछ , त्यो त धुर्मुश सुन्तलीले काम गरेर नै  सबैको आँखा खोलिएका छन्। उनिहरुले ५- ६ महिना  एउटा गाउँ नै बनाउँन सक्छन् भने, अरुलाई के ले रोक्छ ? हामी किन टुलुटुलु हेरेर बसीरहेका छौ ? कोहि गाउँ बनाउँन रकम नपुगेर दिन दिनै सहयोगको अपिल गरिरहेका छन् ,कतै बैंकमा ब्याज आईरहेको छ। आखिर पिडित तिनै नेपालीहरु नै होईनन् र ? आज भूकम्प गएको १४ महिना बितिसक्दा पनि किन एउटा बस्ती किन उठ्न सकेको छैन ? आखिर तपाई सहयोग दाताहरु किन मौन हुनुहुन्छ ? सोध्नुहोस् : तपाईले भूकम्प पिडितलाई सहयोग गरेको रकम कहाँ छ ?