अलपत्र कामदारलाई तत्काल स्वदेश फिर्ता गराउन,एनआरएनको ध्यानाकर्षण


काठमाडौं । कतारमा अलपत्र परेका नेपाली श्रमिकहरुको छिटो उद्धारका लागि गैरआवासीय नेपाली संघले (एनआरएन)ले  सरकारको ध्यानआकर्षण गराएको छ। संघका अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार श्रममन्त्री दीपक बोहोरालाई भेटेर अलपत्र श्रमिकहरुलाई तत्काल स्वदेश फिर्ता गराउन ध्यानाकर्षण गराएको हो।

भेटका अवसरमा संघका महासचिव डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली दूतावाससँगको सहकार्यमा राहतका समाग्रीहरु उपलब्ध गराइरहेको र अलपत्र परेका १८५ कामदारमध्ये १७ जना नेपाल फर्कन सफल भएको अवगत गराए । पीडितले चाहँदा चाहँदै पनि कतार सरकारको निष्काशन अनुमति बिना फर्किन नसक्ने भएकाले सरकारी तहमै पहलको आबश्यकता रहेको उनले बताए ।

साथै पीडित कामदारहरुको हवाई टिकट तथा न्यायोचित क्षतिपूर्तिको व्यवस्थाको लागि समेत पहल गर्न उनले अनुरोध गरे । मन्त्री बोहोराले यस बिषयमा श्रम सहचारीसँग समन्वय भइरहेको र पीडितहरुका केहि अतिआवश्यक विवरणहरु श्रम सहचारीसँग सहकार्य र समन्वय गरी संघका कतारका प्रतिनिधिहरुलाई जति सक्दो चाँडो उपलब्ध गराउन अनुरोध गरे ।

सो अवसरमा मन्त्री बोहोराले श्रम तथा रोजगार सचिव, वैदेशिक रोजगार बिभागका महानिर्देशक तथा काठमाडौं श्रम कार्यालयका प्रमुखलाई छिट्टै स्वदेश फिर्तीको व्यवस्था मिलाउन आवश्यक प्रक्रिया चाल्न निर्देशन दिएका छन् ।

प्राप्त विवरणहरुका आधारमा श्रमिकको वर्गिकरण गरिने र के कसरी फिर्ती हवाई टिकटको व्यवस्था गर्न सकिन्छ त्यसको निर्क्योल गरी छिट्टै स्वदेश फिर्तीको व्यवस्था मिलाउने मन्त्री बोहोराले जानकारी गराए । त्यसपछि उचित क्षतिपूर्तिको लागि पहल गरिने उनको भनाइ छ । उनले गैरआवासीय नेपाली संघको तर्फबाट सहजकर्ताको भूमिका खेल्न महासचिवलाई अनुरोध समेत गरेका थिए ।