बन्द, हड्ताल,चक्काजामको राजनीति कहिले सम्म ?


– पुष्प थापा

बन्द हड्ताल, चक्का जाम पंचायती कालमा राजा तन्त्रको बिरुद्ध र पंचायती सरकारको बिरुद्धमा तत्कालिन प्रतिबन्धित राजनीतिक पार्टीहरुले प्रजातन्त्रको प्राप्तिको लागी गरिने बिरोधहरु यसरी गरिन्थ्यो। पुरानै प्रतिबन्धित राजनीतिक पार्टीहरुले जस्तै लोकतन्त्र प्राप्त पश्चात पनि बन्द,हड्ताल अशान्ति पूर्ण आन्दोलन अझै नेपालका राजनीतिक पार्टीले यथावत राख्ने शैलीले दशकौ बर्ष लामो संघर्ष, लाखौ नेपाली जनताको त्याग बलिदाल र सहिदको रगतको मूल्यबाट प्राप्त भएको प्रजातन्त्र पछि लोकतन्त्र,गणतन्त्र र संघीयतालाई नेताहरुले अझै सम्म आत्म साथ गर्न नसकेको बन्द हड्ताल र चक्का जामले स्पष्ट हुन्छ।

नेताहरुले आर्थिक समृद्धिका बारेमा जे जति बखान गरे ता पनि बन्द हड्ताल, चक्काजाम, आन्दोलन र तोडफोड़को अशान्ति पूर्ण आन्दोलनको राजनीतिले नेपालको विकासको गतिलाई अघि बढन सधै रोक्छ भन्ने हेक्का नेताहरुलाई अझै नपाएको देखियो। जबर्जस्ति बन्द हड्ताल र अशान्ति पूर्ण आन्दोलनले आम नेपाली जनतालाई स्वतन्त्र पुर्वक बाच्ने आधारभुत अधिकारहरुबाट पनि बन्चित बनाउन बाध्य बनाईन्छ। आर्थिक विकास त सधै नेताको भाषण मात्रै सिमित हुनेभयो। बेरोजगार युवाहरुलाई बन्द, हड्ताल, चक्काजाम, आन्दोलन र तोडफोड़को विनासकारी काममा लगाइन्छ भने समृद्ध नेपालको सपना दिवा सपना मात्र हुनेछ।

नेपाली जनताले राज्यले बनाएको साझा सडकलाई स्वतन्त्र रुपमा उपयोग गर्न नपाउनु र जबर्जस्ति बन्द गर्नु नै आम नागरिककहरुको स्वतन्त्र पुर्वक बाच्ने मानव अधिकार हनन भईरहेको छ। मानसम्मानको लागि गरिने नेता गिरी र व्यक्तिगत स्वार्थको लागि गरिने राजनीतिले देश र जनताको उन्नति प्रगति भन्दा व्यक्तिबाद हाबी हुदै जादा नेपालको आर्थिक बृदी दर १ % भन्दा कम .७७ % ले स्थिर अबस्थामा गुज्रिएको समयमा बन्द हड्ताल र अशान्ति पूर्ण तोड फोड्को राजनीतिले नेपाललाई कुन दिशा तिर मार्ग निर्देश गर्न लागेको हो भन्ने हामी सर्वसाधारणलाई बुझ्नै गाह्रो भाईरहेको छ।

गत बर्ष आएको बिनाशकारी भुकम्पले सिकिस्त बिमारी बनाएको नेपाललाई ५ महिना सम्म भारतको अघोषित नाका बन्दीले हामी नेपालीहरुलाई दुख कष्ट र सास्तीको सामना गर्नु परेको अझै कसैले भुलेका छैनौ। बिनाशकारी भूकम्पले भत्किएका घर बास ,स्कुल, अस्पताल र सरकारी सेवा प्रदान गर्ने कार्यालय भवनहरु अझै पुनः निर्माण भैसकेका छैनन। घाम, पानी झरी बादल जाडो गर्मि र बर्षामा टाउको ओत्ने ठाउ सम्म नभएका नेपालीहरुलाई यस्तो अबस्थामा देश र जनतालाई अझ धेरै दुख दिन बन्दले च्याप्नु राजनीतिक नेतागिरी नभई यो पूर्ण रुपमा दादागिरी र अपराध गिरी मात्र हुनसक्छ।

भारतीय नाकाबन्दीको बिरुद्ध चुइक्क बोल्न नसक्ने मुसो जस्ता दुलो भित्र बन्दित अबस्थामा रहनेहरुले नेपाली जनतालाई दुख दिन र देशलाई कंगाल बनाउन जोसिला भाषण उत्तेजित नारा लगाएर देशको अस्मिता लुटिरहेका छन। जनताको लागी एउटा सिन्को सम्म भाच्न नसक्ने सामर्थ्य, कार्य क्षमता र नैतिक दक्षता सम्म नभएका नकचराहरुले विश्वको अगाडी नेपाललाई द्रुत गतिमा अक्ष्यम साबित गर्दैछन। नेपालको राजनैतिक, आर्थिक, सामाजिक र धार्मिक स्तरमा नै देशलाई खतम गर्ने प्रयासमा लागिरहेका छन।

आफुलाई सच्चा देश भक्त राष्ट्र प्रेमी,प्रगतिशील, अग्रगमन, युग परिवर्तनकारीको परिचय बनाउन नथाक्नेहरुले नेपाललाई अझ धेरै कंगाल र विदेशको दासी बनाउने होटमा लागिरहेका छन् । समय अनुकल र देश परिस्थितिलाई आत्म साथ गर्न नसक्नेहरुले नेपाली जनताको मुख्य समस्याहरु के के हुन भन्ने सम्म ज्ञान नै छैन तर पनि देश र जनताको लागी लड्छु भन्दा लाज पनि लाग्दैन।

राजनीति सेवा र धर्म भन्दा परिवारको भरण पोषण र आफ्नो जिबिको पार्जनलाई राजनीतिलाई व्यवसायिककरण गरी सधै मोजमस्तीको लागि भ्रष्टाचार अपराधलाई सहारा बनाएको नेपाली जनताले सधै जानेको कुरा हो तर पनि सपनाका लड्डु नेपाली जनतालाई बाढन नछोड्नु कहाँ सम्मको लाहचारी र फोहरी खेल हो बिश्वास गर्नै सर्वसाधारण नागरिकलाई गाह्रो पर्ने यस्तो तन्ड़प नाच नाज्दा पनि सहेर बस्नु पर्ने अवस्था नेपाली जनताको छ।

संसारबाट डेट एक्पाएर्ड भएका आयातित राजनीतिक बिदेशी राजनीतिका सिद्धान्तका आदर्शबादहरु र दर्शनको अनुयायीहरुले देश र जनतालाई उपेक्षित बादहरु जबर्जस्ती लाददा देश र जनताको आर्थिक बिकासको समृद्धिको लागी समय परिस्थितिलाई प्रतिकुल असर गर्ने भएकोले यस्ता कु तत्वहरुलाई नेपाली जनताले अस्तित्व नै मिटाई दिनु पर्दछ। नेपाली जनताको आत्ममा भिज्न र हृदयमा बस्न कहिले पनि यस्ता भ्रमात्मक नेपाली जनताका प्रतिकुल बादलाई सम्भव छैन अशान्ति पूर्ण आन्दोलन, बन्द हड्ताल र सडक चक्का जाम गर्दा नेपाली जतनतालाई कति सास्तीपूर्ण कष्टकर जीवनको सामना गर्नु पर्ने होला?

नेताहरु हो कहिले काही नेपाली जनता भएर हेर्नुस त तब मात्र थाहा हुन्छ जब दिन भरी मजदुरी गरि बिहान साझ घरको चुलो बन्दछ ती मजदुर, गरिवकिसान, उत्पीडित सिमान्तकृत पिछडीएका गरिब दुखिहरुको परिवार बनेर हेर्नुस तब मात्र तपाईलाई थाहा हुनसक्छ। एक दिनको बन्दले के कति एउटा गरिब मजदुरलाई असर पर्दोरहिछ भने सिंगो देश र पुरा देश बासीलाई कस्तो असर पर्ला?

नेपालका नेताहरु राजनीतिमा प्रवेश हुनुभन्दा पहिला अति दयनीय आर्थिक अबस्थाबाट गुज्रियका थोत्रा चप्पलमा हिड्ने,डेरा बहाल बुझाउन नसक्नेहरुले अहिले २,३ दशकमा राजमहल, अघि पछि सयौ कार्यकर्ता, देश विदेशको भ्रमण, नोकर चाकर, स्यारे सुशारे घर भरि हुदा सम्म पनि आफ्नो भन्दा फरक विचार राख्नेहरुलाई शामन्ती र प्रतिक्रया बादी भन्ने र यो फलनो जात फलानो क्षेत्रको हो भनि अपमान गर्ने चलन अझै नछाड्नु नेपालमा राजनीतिक सस्कारको अझै सम्म विकास नभएको भन्ने स्पष्ट बुझिन्छ।

पछिल्लो कालखण्डमा आमनिर्वाचनमा हार्ने डरले निर्वाचनलाई बहिष्कार गर्ने प्रचन नेपाली राजनीतिमा एउटा चलनको रुपमा विकास भएको हुनाले देशलाई राजनीतिक अस्थिरता कायम राख्न सधै ठुलो प्रयास जारी नै रहेको छ। मुलधारको राजनीतिबाट बाहिरिएकाहरु सरकार र सदनमा आफ्नो उपस्थिति नरहदा आफ्नो घर परिवार र पार्टी कार्यक्रताको भरण पोषणको लागी बन्द हड्ताल सडक जाम र अशान्तिपूर्ण आन्दोलन एबम जबर्जस्ति चन्दा, फिरौती, असुली गरी आफ्नो पार्टी र परिवार चलाउछन।

जात भात र क्षेत्रीय हिसाबमा सिंगो देशलाई बिखन्डनको धार तिर धकेल्ने, आफ्नो स्वार्थको लागि देशलाई युद्ध स्तरमा जस्तै खुला संसारमा नाका बन्दि गरि कैदीको जीवन व्यतित गर्न नेपाली जनता वेवोश भएको यो नेपालको कालो ईतिहासको रुपमा अस्मरणीय दुखित घटनाको रुपमा लेखिएकोछ। नेपाली जनताको अभिमुल्य मतबाट पराजितहरुले आफुलाई सिंगो क्षेत्रको प्रतिनित्वको रुपमा लिनु लोकतन्त्रलाई उपहास बनाउनु मात्र भएको बुझिन्छ।

लोकतन्त्रमा बहुमत, अल्पमतको गणितीय गणनालाई जनताको अभिमतको आधार मानिने भएकोले निर्वाचनमा पराजय हुनेहरुले विजय हुनेलाई आफ्नो हार भन्दा पनि आफुले देश र जनताको लागी उठाएका मुद्धा ठिक नभएर हारेको महसुस गर्ने चलन संसार भरिका लोकतान्त्रिक देशहरुमा प्रचलितछ। लोकतन्त्रतिक राज्य सत्ता पद्धितिमा जनता जनार्जन भएको हुदा लोकतन्त्रको मर्म भावना र जन चाहनाको अभिमत निर्वाचन पद्धितिलाई नै मापदण्डको आधार मान्ने गरिन्छ। त्यसैले एक ले अर्कोलाई सहर्ष स्वीकार गर्नुको कुनै बिकल्प छैन।

लोकतन्त्रमा जनताका मागहरुलाई व्यवस्थापिका संसदबाट समाधान गर्न सदनमा साम्सदहरु हरेक समय छलफल बहस गर्न तल्लिन छन। गरिमामय सदनको बैठक त्यसैको लागिमात्र बस्ने गर्दछ। जनताले उठाएका जायज मागहरु पुरा गर्नु नै सदनको मर्यादा र जनप्रतिनितिहरु कर्तब्य पूर्ण जिम्मेवारी पुरा गरेको मानिन्छ। जनताको माग सडकलाई बन्द, हड्ताल र आन्दोलन गरि नेपाली जनतालाई दुख कष्ट दिएर पक्का पनि पुरा हुदैन। बार्ताको माध्यमद्वारा जायज मागहरुलाई सरकारले अनिबार्य पुरा गर्नु पर्दछ।

नेपाली राजनीतिक ईतिहासमा विकास भएको सस्कार बन्दहड्ताल, सडकजाम र अशान्तिपूर्ण आन्दोलन संसारका कुनै बिकशित देशहरुमा यस्तो राजनीतिक प्रचलनको विकास भएकोछैन। युरोप अमेरिका जपना अष्ट्रेलिया मा कहिले पनि बन्द चक्काजाम र सडकमा यातायात बन्द भन्ने शब्द सम्म सुन्न पईदैन। तर नेपालमा किन र कस्को लागि यस्तो गरिन्छ जनतालाई दुख दिने काम किन गरिन्छ। राजनीतिक नेताहरुले नेपाली जनतालाई यसको उत्तर दिनै पर्दछ।

बन्द हड्ताल, सडक जाम र असंतिपूर्ण आन्दोलनले न त नेपाली जनताका जल्दा बल्दा अति आवश्यक मागहरुलाई परिपूर्ति गर्न सकिन्छ? नत आधार भुत मैलिक अधिकारहरुको संरक्षण गर्न सक्दछ नत देशलाई राजनीतिक अस्थिरताको खाडलबाट बाहिर निकाल्न सकिन्छ। नेपाल सरकारले बन्द,सडक जाम र अशान्ति पूर्ण तोडफोड गर्ने आन्दोलनकारीहरुको बिरुद्धमा कानुन बनाओस र बन्द हड्ताल सडक जाम चक्का जाम र अशान्ति पूर्ण आन्दोलन गर्ने राजनीतिक पार्टीहरु, संघ सस्थाहरु कडा भन्दा कडा कारबाही गरोस। बन्दको मारमा पिडित भएकाहरुलाई बन्द कर्ताबाट क्षेती पूर्ति भराउनु पर्दछ। अब नेपालको समृद्ध आर्थिक बिकसकोलागी बन्द हड्ताल, आन्दोलनलाई सधैको लागि बन्दगरौ।

– पङ्तीकार गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार हुन्।