वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन


काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ ।राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ ।

ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो ।

गुरुङको जन्म विसं १९९४ साल फागुन १४ गते ( सन् १९३८ फेब्रुअरी २६) भारतको दार्जीलिङमा भएको थियो । उनले सन् १९६१ मा नौलाख तारा नामक गीत रेकर्ड गराए ।राष्ट्रिय गानका संगितकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गीतहरुमा स्वर तथा संगीत भरेका छन् ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि संगीत दिएका छन् ।गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संगीतज्ञ अम्बर गुरुङको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनलाई नेपालको संगीत आकाशका कहिल्यै ननिभ्ने तारा बताएका छन् ।

‘नेपाली गीत संगीतको उन्नयनमा जीवन व्यतित गर्नु भएका स्वर्गीय अम्बर गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ,’ प्रधानमन्त्रीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।

ओलीले नेपाल र नेपालीलाई गुरुङले लगाएको गुण मुलुकले सदा स्मरण गरिररहने पनि बताएका छन् । ‘नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता तथा नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको निधनले मलाईं स्तब्ध तुल्याएको छ,’ वक्तव्यमा भनिएको छ । उनले गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
‘नौलाखतारा उदाए’ बाट सुरु भएको गुरुङको देशभक्तिपूर्ण उचाई नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथि पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि विज्ञप्ति प्रकाशित गर्दै गुरुङको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । गुरुङले नेपाली संगीतमा पुर्‌याएको योगदानको उच्च कदर गर्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पनि शोक वक्तव्य जारी गर्दै गुरुङको निधनले नेपाली संगीतमा अपूरणीय क्षति पुगेको बताएका छन् ।