लोक दोहोरी प्रतिष्ठान युरोप शाखाको पहिलो अधिबेशन पेरिसमा हुने


बार्सिलोना/ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान युरोप शाखाको पहिलो अधिबेशन फ्रान्समा हुने भएको छ। आगामी जुन २६ तारिख पेरिसमा प्रतिष्ठानको पहिलो अधिबेशन हुन लागेको हो। नेपाली गीतसंगीत बिशेष गरि लोकदोहोरीलाइ प्रबासमा प्रचार तथा प्रबर्धन गर्ने उदेश्यका साथ गठन भएको युरोप शाखाको तदर्थ समितिले पहिलो अधिबेशन गर्न लागेको हो।

अधिबेशनले आगामी तिन बर्षको लागि पदाधिकारीहरुको चयन गर्ने युरोप शाखाले जनाएको छ। गैर आवासीय नेपाली संघ फ्रान्सको संयोजनमा अधिबेशनको साथमा बिबिध सांस्कृतिक कार्यक्रम पनि राखिएको महासचिब शिब सुबेदीले जानकारी दिए।

कार्यक्रममा गैर आवासीय नेपाली संघका यूरोप स्थित अभियन्ताहरुको  सहभागिता रहने भएको छ। नेपालमा ४० भन्दा बढी जिल्लामा शाखा बिस्तार भएको प्रतिष्ठानको युरोप शाखा बाहेक यूकेमा पनि शाखा गठन गरेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिबेशन पनि यहि असोजमा काठमाडौँमा हुदैछ l