कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स लि. गाभिए


पोखरा । पोखराको कैलाश विकास बैंकले थप दुईवटा संस्थासँग एकीकृत कारोबार सुरु गरेको छ । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स लिमिटेड मर्ज भएर सोमबारदेखि कैलाश विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

गाभिएपछि पनि बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय ख बर्गको मान्यता पाएको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले संयुक्त कारोबारको उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि बोल्दै डा. नेपालले ६० प्रतिशत नागरिक बैंकिङ पहुँचबाट बाहिर रहेकाले वित्तीय साक्षरता बढाउनुपर्ने बताए ।

मुलुकमै रोजगारीको प्रशस्त सम्भावना हुँदाहुँदै युवाशक्ति बिदेशिनु विडम्बना भएको भन्दै उनले बैंकहरुले कृषि तथा उत्पादनका क्षेत्रमा लगानी बढाएर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । २२ वर्ष अघि अन्नपूर्ण फाइनान्सबाट सेवा सुरु गरेको बैंक ४ वर्ष अघि राष्ट्रियस्तरको वाणिज्य बैंक बनेको थियो ।

तीनवटै संस्था गाभिएपछि बैंकको पुंजी १ अर्ब ५८ करोड पुगेको छ भने जगेडा कोष ७६ करोड ५ लाख तथा निक्षेप १४ अर्ब ३३ करोड रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । बैंकको हाल कूल कर्जा १३ अर्ब २१, करोड तथा खुद मुनाफा ३३ करोड, ४१ लाख कायम रहेको छ ।

बैंकले मर्जर, वोनस राइट शेयर जस्ता बिषयमा सचेत बनेका कारण राष्ट्र बैंकको निर्देशन साढे २ अर्वको सीमामा पुग्त धेरै समय नलाग्ने लामिछानेको भनाई छ । बैंकको हाल देशभरी ३८ शाखा छ ।
बैंकका अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रबैंक पोखराका प्रमुख चिरञ्जीवी चापागाईं, राष्ट्रबैंक सञ्चालक समिति सचिव राजेन्द्र पण्डित, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका सचिव गोविन्द ढकाल, कास्कीका प्रमुख जिल्ला अधिकारी मैनाली लगाएतले नाफामा भन्दा उपभोक्ताको गुणस्तरमा सचेत बन्न सञ्चालक समितिलाई आग्रह गरे ।

उच्च स्तरीय बैंकिङ सेवा दिँदै आएका तीनवटै संस्था गाभिएपछि पूंजीकोष तथा व्यवसायको आधार फराकिलो भएकाले सवल र सुदृढ वित्तीय संस्थाको रुपमा स्थापित हुन खासै गाह्रो नरहेको कार्य संचालन विभाग प्रमुख बिमल कुमार तिमिल्सेनाले बताए ।

उनले देशकै ठूलो राष्ट्रिय स्तरको विकास बैंकको रुपमा ग्राहकहरुलाई प्रभावकारी तथा बिश्वसनीय आधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्न आफुँहरु सक्षम रहेको दावी गरे ।