एनआरएनए युरोपियन बैठकको तयारी कस्तो छ ?


बसन्त रानाभाट/ संगीता मरहट्टा
(एनआरएन सञ्चार कार्यदल)

गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय  बैठक तथा सातौं महिला सम्मेलनको तयारी तिव्रताका साथ बढिरहेको छ । आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने सम्मेलनको तयारी तिब्र बनेको हो। एनआरएनए युरोप क्षेत्रीय संयोजक, कुल आचार्यको संयोजकत्वमा गठित तयारी समितिले बिभिन्न क्षेत्रमा तयारीलाई तिब्रता पारेको छ।

आर्थिक संकलन,दर्ता प्रक्रिया,होटल बुकीङ्, लगायतका महत्वपूर्ण कामहरु सुरु भईसकेका छन्। आर्थिक उपसमितिको जिम्मेबारी लिएका युरोप उप-संयोजक प्रेम गुरुङले रकम संकलनका लागि तिब्रता दिएका छन्। युरोप क्षेत्रका आईसीसी सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्षहरु उक्त समितिमा रहेका छन्।

सहभागिहरुले अनलाईन दर्ता गर्न सक्ने

संयोजक आचार्यले यसपटक आधुनिक प्रविधिहरुको अधिकतम प्रयोग गर्दै,सहभागीहरुलाई अनलाईन दर्ताको सुबिधा रहेको जनाएका छन्। युरोपियन बैठकहरुमा नै पहिलो पटक सुरु गरिएको यो प्रबिधिमा,सबै राष्ट्रिय समन्वय परिषदहरुलाई अनलाइन दर्ताका लागि अपिल गर्दै लिंक समेत उपलब्ध गराईएको आचार्य बताउँछन्।

उनले भने ”युरोपका बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट सहभागीहरुले टिकट तथा होटल बुकिंङ् गर्ने कार्य भैरहेको छ । कोपेनहेगन एअरपोर्ट, छेवैमा रहेको सुविधासम्पन्न हिल्टन होटलमा बैठक हुने हुँदा सबैलाई सुबिधा छ।”,

गैर आबासीयहरुको उल्लेख सहभागिता हुने

बेलायत निबासी गैर आबासीयहरु यस पटक कोपेनहेगन बैठकमा ब्यापक सहभागिता जनाउँदै छन्। क्षेत्रीय बैठक, डेनमार्कका लागि युके प्रतिनिधिहरुका संयोजक तथा आइसिसि सदस्य संगीता मरहट्टाका अनुसार अहिलेसम्म ७० जनाले बैठकमा भाग लिनका लागि नाम उपलब्ध गराईसकेका छन्।

यसपटक दोस्रो पुस्ताका गैर आबासीयहरुको समेत उल्लेख सहभागिता रहने एनआरएन सञ्चार कार्य-दलमा सह-संयोजक रहेर काम गरेकी मरहट्टा बताउँछिन्।  बेलायत बाहेक बेल्जियम,जर्मनी,स्पेन,पोर्चुगल,स्बिजरल्याण्ड,नेदरल्याण्ड,फ्रान्स,नर्बे,फिनल्याण्ड लगायत २७ बटा राष्ट्रहरुबाट उल्लेख सहभागिता रहने अपेक्षा गरिएको छ।

संयोजक आचार्यले, युरोपेली क्षेत्रीय बैठक युरोपका एनसीसीहरुको जल्दाबल्दा समस्याहरुमा केन्द्रित रहने भएकाले बैठकमा भाग लिएर समस्याहरुबारे बृहत छलफल गर्न सबैलाई आग्रह गरेका छन् ।

युरोप उप- संयोजक दावा जी. शेर्पाले, सामाजिक प्रतिबेदन उपसमितिको जिम्मेबारी लगत्तै राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु तथा महासचिवलाई प्रतिबेदन तयार गर्न प्रक्रिया सुरु गरेका छन्।

महिलाहरुका ४ मुख्य एजेण्डा

सातौ महिला सम्मेलनमा यसपटक महिलाहरुका मुख्यत: ४ बटा मुख्य एजेन्डा रहने भएका छन्।  एनआरएनए महिला संयोजक सपिला भण्डारीका अनुसार,एक युरो परियोजना, युटेरिन प्रोल्याप्स परियोजना, महिला सशक्तिकरण र विदेशमा रहेका महिलाहरुका लागि सेफ हाउस गरी चार मुख्य मुद्दा बारे छलफल गरिने भएको छ।

यी मुख्य चार एजेन्डाहरुलाई अन्य सम्मेलनहरुमा पनि साझा एजेन्डाका रुपमा लैजाने निर्णय गरिएको र डेनमार्कमा हुँदै गरेको महिला सम्मेलनका लागि सबै एनसीसीका महिला संयोजकहरु, सिनियरहरु र महिला आइसिसि सदस्यहरुबीच अझै छलफल चलिरहेको राजभण्डारी बताउँछिन्।

डेनमार्कबासी नेपाली उत्साहित

युरोपियन बैठकलाई लिएर डेनमार्कबासी नेपालीहरु उत्साहित भएका छन्। क्षेत्रीय बैठक आयोजक कमिटि सचिवालयका सदस्य सचिव तथा डेनमार्कबाट एनआरएनए आइसिसि सदस्य सोम सापकोटाले नेपालीहरु उत्साहित भएको बताएका छन्।

गत बर्ष नेपालमा गएको महाभुकम्पका कारण युरोप क्षेत्रीय बैठक स्थगित भएको तर सो अवसर पुन: डेनमार्कलाई नैं मिलेकोले सबैजना अति उत्साहित भएको सापकोटा बताउँछन्। डेनमार्कजस्तो महङ्गो ठाउँमा अत्यन्त कम खर्चमा अति व्यवस्थित कार्यक्रम गर्नका लागि हर-तरहबाट प्रयास भईरहेको उनले बताए।

पुनर्निमाणका लागि युवा सहभागिता बारे छलफल

एनआरएनएका युवा उप-संयोजक लोकराज शर्माले युवाहरुका बिषयमा पनि सेसनहरु हुने बताएका छन्।  सामाजिक उद्यमशीलता र युवाहरुलाई पुननर्निमाणमा सहभागीजस्ता बिषयहरुमा छलफल चलाइने शर्माले जानकारी दिए।

राष्ट्रिय समन्वय परिषद डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले नवौं क्षेत्रीय सम्मेलनलाई भव्य बनाउनका लागि एनआरएनए डेनमार्कको सम्पुर्ण टिम लागिपरेको र स्थानीय स्तरमैं कमिटिहरु बनाएर काम भैरहेको बताए। युरोप क्षेत्रीय बैठकका लागि,यही जुन ५ तारिख अर्को तयारी बैठक बस्दैछ।