धुर्मुस सुन्तली फाउन्डेसनमा १ करोड १६ लाख रुपैयाँ संकलन,सहयोगको लहर बढ्दो


‘धुर्मुससुन्तली फाउन्डेसन’को खातामा मंगलबारसम्म खातामा एक करोड १६ लाख जम्मा भइसकेको छ। हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो नमुना एकिकृत बस्ती निर्माण कार्यमा जुटिरहेको बेला सहयोगको क्रम जुटिरहेको छ।

निर्माण कार्य सम्पन्न गर्न करिब पौने ५ करोड सम्म खर्च लाग्ने बताईएको छ। दशैंसम्म बस्ती हस्तान्तरण गर्ने आत्मविश्वास लिदै कलाकार जोडीले काम थालिरहेका छन्। काम सुरु गर्दा फाउन्डेसनको खातामा मात्र ७४ हजार रुपैयाँ रहेको थियो। देश विदेशबाट सहयोगको लहर बढे पछि बस्ती बन्ने आशा कलाकारहरुमा जागेको छ।

परियोजनालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार पाँच सय ५५, अनील दुलाल, भुपेन्द्र न्यौपाने, वसन्त अधिकारीको टोलीले अमेरिकाबाट १० लाख ८६ हजार, नेप्लीज इन ग्राज, अस्ट्रियाबाट अमृत पौडेललगायतको समूहले नौ लाख ९३ हजार पाँच सय ९३, बोस्टन अमेरिकाको तामाङ समाजले नौ लाख ९७ हजार, नुवाकोटका देण्डु लामाले अमेरिकाबाट ६ लाख ६ हजार ६ सय ६, अष्ट्रेलियाको जय नेपाल फाउण्डेशनमार्फत तीन लाख २० हजार, झापाका कृष्ण बहादुर खत्री परिवारले जापानबाट पाँच लाख पाँच सय पाँच रुपैयाँ जुटेका छन्।

यसबाहेक दुई सयभन्दा बढी व्यक्ति तथा संस्थाबाट गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेका छन्।