मीरा राईलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने


अल्ट्रा धाविका मीरा राईलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ । नवौं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल जनसेवा श्री पुरस्कारबाट धाविका मीराका अलवा नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ, जुडोकी नीमा घर्तीमगर र कराँतेकी बिमला तामाङलाई पनि सम्मान गर्ने भएको छ । मीरा राई अल्ट्रा धावकका रुपमा विश्व बरियतामा दोस्रो स्थानमा छिन् ।

फुटबल स्टार नवयुगको प्रेरणामा नेपालले गत बर्षको अन्त्यमा भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जितेको थियो । उनी प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर समेत हुन् । त्यस्तै साग गेममै उसुकी नीमा घर्तीमगरले पनि स्वर्ण जितेकी थिइन् । त्यस्तै सन् २०१४मा सम्पन्न एशियाली खेलकुदमा नेपालका लागि एकमात्र पदकबिजेता बिमला तामाङपनि प्रवल जनसेवा श्री पुरस्कारबाट सम्मानित गरिनेछ ।

त्यस्तै १२औं सागमा पौडीका बिभिन्न प्रतिस्पर्धामा एक रजत र तीन काश्यसहित ४ पदक जितेर कीर्तिमान कायम गर्ने गौरिका सिंहलाई जनसेवा श्री मानपदवी दिइनेछ ।

साथै स्वीकृति पदक सातजना खेलाडीलाई प्रदान गरिने भएको छ । स्वीकृति पदकबाट सम्मानित हुनेहरुमा महिला फुटबलकी अनु लामा, पुरुष फुटबलबाट राष्ट्रिय टोलीका खेलाडीहरु रञ्जन विष्ट, आदित्य चौधरी, अमृत चौधरी र मानबहादुर लामा सम्मानित हुनेछन् । त्यस्तै भलिबलकी बिनिता बुढाथोकी र सरस्वती चौधरीले पनि स्वीकृति पदक पाउनेछन् ।

तपाईको प्रतिक्रिया