स्पेनबाट पठाईएको रकम,मुगुकी मृगौला पिडितले पाईन् (फलोअप)


प्रकाश तिवारी,बार्सिलोना/ स्पेनबाट संकलन गरेर पठाईएको रकम कर्णाली अञ्चलको बिकट जिल्ला मुगुको रोवा गाबिस वडा न. ८ लुम्स गाउँ निवासी ४२ बर्षीय मृगौला पिडित जान देवी बुढाले प्राप्त गरेकी छिन्। उपाचार सहयोगार्थ संकलित रकम १हजार ५सय ९६ युरो अर्थात् १ लाख ८९ हजार ९ सय ३१ रुपैंया मृगौला पिडित बुढाले प्राप्त गरेकी हुन्।

बिगत ९ बर्ष देखि स्पेनमा बसोबास गर्दै आएका मुगुका स्थायी बासिन्दा पूर्व राष्ट्रिय म्याराथुन धावक ससस्त्र प्रहरीका अक्कल बहादुर बोहोराको पहलमा रकम संकलन भएको थियो। मुगु जिल्लाका सांसद मोहन बानियाँको नाममा पठाईएको उक्त रकम मृगौला पिडित बुढालाई हस्तान्तरण गरिएको अभियानकर्ता बोहोराले जानकारी दिए। सांसद बानियाको उपस्थितिमा अभियानकर्ता बोहोराका पिता मयलाल बोहोराले मृगौला रोगी बुढालाई रकम हस्तान्तरण गरेका थिए।

पिडित बुढाको दुवै मृगौलाले काम गर्न छाडेको जानकारी फेसबुकबाट थाहा पाएका बोहोराले केहि दिन आगाडी मात्रै सहयोगको अपिल गर्दै रकम जुटाएका हुन्। गत चैत्र ४ गते देखि मृगौलाको नियमित डायलोसीस गराई रहँदा निकै रकम खर्च भैसकेको र उनको बाँकी उपचार आर्थिक अभावले गर्दा कठिन बन्दै गए पछि जीवन रक्षाका लागि अनुरोध गरिएको थियो।

स्पेनको कोस्टा ब्लान्का क्षेत्रमा बसोबास गर्ने बिभिन्न नेपाली तथा बिदेशी मनकारी ब्यक्तिहरुले आफ्नो स्वेच्छाले दिएको सहयोगले पिडितलाई केहिँ राहत मिल्ने बिश्वास बोहोराले लिएका छन्।

 

तपाईको प्रतिक्रिया