अब्रीनी पक्राउ, ब्रसल्स हमलामा ‘ह्याट’ लगाएका हुन् वा होइनन् भनेर पुष्टी गर्ने प्रयास


बेल्जियमका अभियोजनकर्ताहरुका अनुसार मोहमद अब्रीनी बेल्जियमका नागरिक हुन् र उनी हालैको ब्रसल्स आक्रमणका बेला विमानस्थलमा ‘ह्याट’ लगाएको देखिएका आक्रमणकारी हुन सक्छन्।

त्यसको पुष्टि गर्न थप अनुसन्धान जारी रहेको बताइएको छ। बेल्जियमी अभियोजनकर्ताहरुको भनाइमा गत महिना ब्रसल्समा गरिएका आत्मघाती हमलामा संलग्न भएको आशंकामा पक्राउ परेका पाँच संदिग्ध व्यक्तिहरु मध्ये एक जना गत नोभेम्बरका प्यारिस आक्रमणहरुमा संलग्न थिए।

बेल्जियमका सञ्चारमाध्यमले जनाएअनुसार अब्रिनी मार्च १२को ब्रसल्स विमानस्थल आक्रमणको बेला विमानस्थलमा ‘ह्याट’ लगाएको अवस्थामा देखिएका थिए।
अभियोजनकर्ताहरुले एक पत्रकार सम्मेलनमा भने मोहमद अब्रीनी नै ब्रसल्स विमानस्थलमा बम हमलामा संलग्न ठानिएका ‘ह्याट’ लगाएका व्यक्ति हुन् वा होइनन् भनेर पुष्टी गर्ने प्रयास भइरहेको छ।

बेल्जियमका संघीय अभियोजनकर्ता एरिक भान डेर सीपले भने, “अनुसन्धानकर्ताहरुले अब्रीनी मोहमद ब्रसल्स विमानस्थलमा गरिएका आक्रमणहरुका लागि जिम्मेवार ठानिएको ‘ह्याट’ लगाएका व्यक्ति नै हुन् कि होइनन् भनी पुष्टि गर्ने प्रयास गरिरहेका छन्।”

ब्रसल्स विमानस्थल आक्रमणका बेला ‘ह्याट’ लगाएका तेस्रो संदिग्ध आक्रमणकारीले प्रयोग गरेको विष्फोटक पदार्थ चाँहि पड्किएको थिएन। अभियोजनकर्ताहरुले ओसामा के भनि चिनाइएका अर्का थुनुवामाथि पनि अनुसन्धान भइरहेको बताए।

ओसामा के ब्रसल्स मेट्रोमा भएको बम आक्रमणअघि सुरक्षा क्यामेरामा देखिएका व्यक्ती भए नभएको अनुसन्धान भइरहेको बताइएको छ। ब्रसल्सको मेट्रो र विमानस्थलमा गराइएका आक्रमणमा ३२ जनाको ज्यान गएको थियो। गत नोभेम्बरमा प्यारिसमा बन्दुक र बम प्रयोग गरी भएको हमलामा चाँहि १३० जनाको ज्यान गएको थियो।-बीबीसी