बालयौन दुराचारको आरोपमा, जर्मन नागरिक पोखरामा समातिए


पोखरा/ बालयौन दुराचारको आरोपमा १ साताअघि लेकसाइडबाट समातिएका जर्मन नागरिक आफ्नै देशमा यस्तै अपराधमा सजाय काटिसकेका व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनलाई पक्रन नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट सुइँको आएको थियो । इन्टरपोलबाट समेत निगरानीमा रहेको व्यक्तिको ‘क्राइम हिस्ट्री’ खोतल्दा कास्की प्रहरीले उनीबाट जर्मनीमा पनि बालयौन दुराचारकै अपराध भइसेकेको पत्ता लगाएको हो ।

कास्की प्रहरीले चैत १६ गते जर्मनी कर्नेलियस स्किलिङ भोनक्यान्स्ट्याटलाई बालचौन दुराचार आरोपमा पक्रेको थियो । त्यस राति पनि उनी एक्लै थिएनन्, उनीसँग एक बालक थिए । ती बालकलाई प्रहरीले उद्धार गर्न सफल भयो । पोखरामा उनले कति बालबालिकामाथि उनले यौन दुराचार गरे भन्ने कास्की प्रहरीले खोजिरहेको छ । जर्मनीमा उनले ६ वर्षको कैद सजाय भुक्तान गरेका थिए ।

प्रहरीका अनुसार बालयौन दुराचारमा लागेका पर्यटकमध्ये धेरै युरोपेली हुने गरेका छन् । प्रहरीलाई अहिलेसम्म प्राप्त सूचना बमोजिम कर्नेलियसको घर परिवारसँग पनि त्यति राम्रो सम्बन्ध थिएन । ‘आफ्नै देशमा पनि वान्टेडमा परेका कर्नेलियसले परिवार गुमाउँदा समेत आफ्नो आदत हटाउन सकेनन् । त्यसपछि आफ्नो इच्छा पूरा गर्न उनले नेपाल रोजे,’ प्रहरी स्रोत भन्छ ।

पक्राउ परेका कर्नेलियसको नेपाल यात्रा यो पहिलोपटक होइन । उनी ८ वर्ष पहिला पनि नेपाल घुम्न आएका थिए । त्यस बेला प्रहरीले उनीमाथि अपराधीको नजरले हेरेको थिएन ।

ती जर्मन नागरिकले धेरै बालबालिकाहरुसँग खिचेको फोटो र उनी बस्ने ठाउँ भने इन्टरपोलले पत्ता लगाएको थियो । पहिला आउँदा पनि उनले धेरै बालबालिकामाथि अपराध गरेको हुन सक्ने इन्टरपोलसँग आवद्ध एक नेपाली प्रहरीले बताए ।

जर्मन नागरिक नेपालमा दोस्रो पटक भने मंसिरमा आएका हुन् । आएको ३ दिनपछि उनी काठमाडौंबाट पोखरातिर लागे । तीन–चार दिन पोखरा बिताएर उनी फेरि काठमाडाै फर्किए । काठमाडौं पोखरा गर्दा पनि उनको साथ कहिले आफूजस्तै पर्यटकसँग भएन न त कि कुनै महिलासँग नै । जहिले पनि उनी बालबालिकासँग घुम्न रुचाउँथे ।

केही दिनपछि उनी काठमाडौंमा बसाइ छोट्ट्याएर पोखरा आए । उनी पोखरा बसेको केही महिनापछि मात्र इन्टरपोलले जानकारी पायो । धेरै घटना हेर्ने भएको हुनाले जर्मन नागरिक पोखरा आएको ढिलो जानकारी भएको इन्टरपोल स्रोतले बतायो । ‘उसले बालकहरुको फोटो खिचेर साथीहरुलाई पठाउने गरेको पाइयो,’ स्रोतले भन्यो, ‘उनी जस्तै युरोपेली मुलुकका साथीहरुलाई पठाएको हुनुपर्छ ।’

पोखरामा छन् भन्ने सुइँको पाएको इन्टरपोलले कास्की प्रहरीलाई पक्रन भन्यो । तर कास्की प्रहरीले बिना आधार सजिलै पक्राउ गर्न सक्थेन । उनलाई सप्रमाण पक्राउ गरे मात्र मुद्दा चलाउन सजिलो हुने भएपछि प्रहरीले त्यो दिन कुरेर बस्यो ।

विपन्न र सडक बालकहरुसँग हिँड्ने गर्थे कर्नेलियस । बालबालिकाले पनि आफूले चाहेको खान र किन्न पाएपछि उनको साथ छाड्दैनथे । चैत १६ गते कर्नेलियसले एक बालकलाई सँगै लिएर लेकसाइडको एक होटलमा बसेको कास्की प्रहरीले सूचना पायो । कास्की प्रहरी रातिको १२ बजे त्यहाँ पुग्यो ।

सूचना पक्का हो कि होइन भनेर प्रहरीले क्रस चेक गर्‍यो । त्यसपछि साढे १ बजेतिर प्रहरीले त्यो होटलमा छापा हान्यो । न भन्दै कर्नेलियसले ती बालकलाई आफूसँगै सुताएका रहेछन् । प्रहरीले ती बालकलाई उद्धार ग¥यो । उनलाई नेपालले दिएको भिसा अवधि पनि सकिएको थियो ।

त्यसपछि चैत १७ जर्मन नागरिक कर्नेलियसलाई बालयौन दुराचार अभियोगमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद थप गर्‍यो । कास्की प्रहरीले कर्नेलियस पक्राउ परेको कुरा इन्टरपोललाई जानकारी दियो । त्यसको केही दिनमै इन्टरपोलले कर्नेलियसमाथि तयार पारेको फाइल कास्की प्रहरीलाई पठायो ।

जर्मन नागरिक कर्नेलियसले त्यति राम्रोसँग अंग्रेजी नबोल्ने भएको हुनाले अनुसन्धानका लागि बयान केही दिनका लागि रोकियो । अहिले कास्की प्रहरीले दोभासेको मद्दतले बयान लिएको छ ।

जर्मन नागरिकले आफुले यौनदुराचार गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘त्यस रात उद्धार गरेको बालमाथि यौनदुराचार गरेको स्वीकारेको छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।भनी पोखराबाट प्रकाशित समाधान न्युजले जनाएको छ।