पहिचान र अधिकारको फैसला आन्दोलनले गर्छ ः फोरम महासचिव कन्दङ्वा


हुम तमु/ लेखनाथ
संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङ्वाले पहिचान र अधिकार प्राप्तिको फैसला आन्दोलनले गर्ने बताउनुभएको छ । लेखनाथ भण्डारढिकस्थित ङ्योए तमु धिंको सभाहलमा संघीय समाजवादी फोरम कास्कीद्धारा आयोजित अबका आन्दोलन र पार्टी संगठन विस्तार विषयक प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि महासचिव कन्दङ्वाले सम्बोधन गर्नुहुदै जबरजस्ती प्रतिगामी संविधान जारी गरेर बहुसंख्यक जनताको पहिचान र अधिकार विहीन बनाइएकाले आन्दोलनकै बलले पहिचान र अधिकार सुनिश्चित गराई छाड्ने बताउनुभयो ।

विभिन्न चरणका आन्दोलनहरु गर्यौं, देशै ठप्प भो तर मागको कुनै सुनुवाई नगरिकाले बैशाखदेखि आन्दोलनको आँधीबेहरी ल्याउने तयारी भईरहेको छ भन्नुहुदै उहाँले आन्दोलनले नै पहिचान र अधिकारको फैसला गर्ने चेतावनी दिनुभयो । पहिचानवादी १५ दलहरुको मोर्चा बनेको छ, अझै केही राजनीतिक पार्टीहरु पनि मोर्चा आवद्धको तयारी रहेको जानकारी गराउनुहुदै अबको आन्दोलन सशक्त संयुक्त आन्दोलन हुने भएकाले पहिचानवादीहरुको बृहत सहभागीता रहने उहाँको भनाई थियो ।

विगतदेखिको ब्राम्हणवादी शिक्षाले जनतामाथि उत्पीडन भईरहेको छ भन्नुहुदै उहाँले जनालाई मुक्ति दिलाउने र अधिकार सम्पन्न गर्ने मुद्धा, विचार र योजना संघीय समाजवादी फोरमसँग रहेको दावी गर्नुभयो । पार्टीको विचार र सिद्धान्तमा प्रष्ट हुदै दृढ संकल्पका साथ पार्टी संगठन निर्माण र आन्दोलनका तयारीमा जुट्न जिल्ला अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

पार्टीका तमुवान प्रदेश इञ्चार्ज गणेशमान गुरुङले अबको आन्दोलनको धक्का काठमाडौं केन्द्रीत हुने बताउनुहुदै पहिचान, अधिकार र अस्तित्वका लागि सबै उत्पिडितहरु आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो । बैशाखदेखि हुने आन्दोलनमा सिंहदरबार ठप्प र काठमाडौमा आन्दोलनको आँधीबेहेरी ल्याउन देशैभरबाट कार्यकर्ता काठमाडौं केन्द्रीत गराईने बताउनुभयो ।

जनताको आन्दोलनको सम्मान पनि गर्न नखोज्ने, मित्रराष्ट्रहरुको सुझाव पनि नसुन्ने सरकारलाई अबको आन्दोलनले ठेगान लगाउने उहाँको चेतावनी थियो । आन्दोलनमा तमुवान प्रदेशबाट दुई हजार पहिचानबादीको सहभागीता रहने दावी गर्नुभयो ।

फोरमका केन्द्रीय सदस्य तथा शिल्पी महासंघका केन्द्रीय अध्यक्ष रामबहादुर नेपालीले परम्परागत सिप भएको समुदायलाई दलित भन्दै उत्पिडनमा पारेको भन्दै आपत्ति जनाउनु भयो । संघीय समाजवादी फोरम पार्टीले शिल्पी समुदायबाट सम्बोधन गर्दै सम्मान गरेकाले सबै शिल्पी समुदायलाई फोरममा गोलबन्द हुन आग्रह गर्नुभयो । उहाँले अधिकार मागेर नपाईने भएकाले आन्दोलनबाट स्थापित गर्नुुपर्ने बताउनुभयो

प्रतिगामी संविधान तत्काल सशंोधन गरी जनताका माग सुनुवाई गर्न आग्रह गर्नुभयो ।संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज देवीराज गुरुङले स्वागत र जिल्ला सचिव गिरीप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कास्कीका अगुवा कार्यकर्ताहरुको बृहत सहभागीता रहेको थियो ।