पोखरा ८ र ९ प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा


कृष्ण रानाभाट/पोखरा १३ चैत ।

पोखरा उपमहानगरपालिकालाई बैशाख १ गते देखि प्लाष्टिक झोला र प्लाष्टिक गिलास निषेध क्षेत्र बनाउने अभियान अन्तरगत शनिबार पोखरा ८ र ९ को एकै दिन घोषणा गरिएको छ ।
IMG_20160326_154329

IMG_20160326_152714

कार्यक्रमका प्रमुख अतिथि नगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले ब्यानरमा हामी प्रतिबद्ध छौ भन्दै हस्ताक्षर गरि घोषणा गरेका हुन्।

उनले पोखरालाई प्लाष्टिक झोला र गिलास मुक्त बनाउन योजना निकै मेहनत, अध्ययन अनुसन्धान गरि लागू गरिएकोले सफल हुने बताए ।

उनले हाल सम्म पोखराका ११ वटा वडाहरु प्लास्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा भइ सकेका र बाँकी वडालाई पनि छिट्टै घोषणा गरिने बताए ।

पोखराको फोहोरको वर्गीकरण गरि हेर्ने हो भने प्लाष्टिक झोला र गिलास मात्र ८० प्रतिशत भन्दा बढी भएकोले नगरपालिकाले यो अभियान थालिएको बताउदै प्रत्येक घर घरबाट प्लास्टिक निषेध गर्न सुझाव दिए।

ग्यास कार्ड बनाएर पनि ग्यास नपाउने हजारौं नागरिक मध्ये आफू पनि एक भएको बताउदै जिल्लाको आपूर्ति व्यवस्था मिलाउने छुट्टै संयन्त्र भएकोले आफुले सहजीकरण मात्रै गरेको बताए ।

सो अबसरमा पोखरा ९ ले थालनी गरेको सेती नदि बचाउँ, प्लाष्टिक झोलाको विकल्प खोजौ अभियान लाई सुरु देखि नै सहकार्य गर्दै आएका २६ संघ संस्थालाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

वडा सचिव लोकदर्शन कोइरालाले प्लास्टिक झोलाको विकल्पको अभियानमा सहयोग गर्ने संघ संस्थाको साथै झोला बनाउने मानव अधिकारका लागि एकल महिला समुहलाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, सहभागीहरूको तर्फबाट डिल्लीराम पौडेल, वडामा क्रियासिल राजनैतिक दलका प्रतिनिधिहरुको तर्फबाट एकीकृत माओवादीका पोखरा ८ का अध्यक्ष लगाएतले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्लाष्टिक झोला निषेध गरौं, बैकल्पिक झोला प्रयोग गरौं भन्ने मुल नाराका साथमा वडा नं. ८ र ९ का सचिव लोकदर्शन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगरपालिका कार्यालय सूचना शाखा प्रमुख चन्द्रवति वाग्लेले गरेकी थिइन ।